बेलाबेला चर्चामा आइरहने र विवादित बनिरहने गायक मोडल दुर्गेश थापा फेरी एक पटक विवादित बनेका छन् । हालै 'बीच्च बीच्चमा ३-बेसार' बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी एक अन्तर्वार्तालाई लिएर आलोचित भएका हुन् । प्राइम टेलिभिजनमा ऋषि धमलालाई दिएको अन्तर्वार्ताको एउटा अंश अहिले भाइरल भइरहेको छ जसमा उनले एक गायकको भन्दै अर्को गायकको गीत गाएका छन् । पत्रकार धमलाले स्वरसम्राट नारायण गोपालको गीत गाउनुस् भन्दा दुर्गेशले भजन शिरोमणि भक्तराज आचार्य र यम बरालको भन्दा रामकृष्ण ढकालको गीत गाएपछि सामाजिक सञ्जालमा उनी ट्रोलको सिकार बनेका हुन् । धमलाले दुर्गेशलाई नारायण गोपालको एउटा गीत गाइदिनुस् भन्दा दुर्गेशले आफू नारायण गोपालका गीतहरू सुन्ने भन्दै भक्तराज आचार्यको गीत 'मुटु जलिरहेछ' गाएका हुन् ।

यसै गरी धमलाले यम बराल मन पर्छन् ? भनी प्रश्न गर्दा आफूलाई मन पर्ने बताउँदै उनले रामकृष्ण ढकालको गीत 'ओराली लागेको हरिणको चाल भो' गाइदिन्छन् । यसरी आफूलाई मन पर्ने र धेरै सुन्ने बताउँदै नेपाली गीत सङ्गीत क्षेत्रका अग्रज र चर्चित गायकको गीत उल्टो गाउँदा दुर्गेश विवादित बनेका हुन् । पछिल्लो समय दुर्गेश आफूले गाएका गीत देखी लिएर गीतका शब्द अझ भिडियोमा समेतलाई लिएर आलोचित बनिरहेका छन् ।