कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली साङ्गीतिक क्षेत्रलाई चलायमान हुने तरखर गर्दै छन् । लकडाउन केही खुकुलो भएसँगै जुरमुराएको गीत सङ्गीतको क्षेत्रमा यति बेला छुट्टै रौनक देखिइरहेको छ । यसै बिच नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२० का लागि आवेदन आह्वान गरिएको छ । साङ्गीतिक क्षेत्रलाई चलायमान बनाउन र साङ्गीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले सङ्गीतका विभिन्न विधातर्फ अवार्ड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अवार्ड भदौ महिनाभित्र काठमाडौँमा आयोजना हुने बताइएको छ । म्युजिक अवार्ड आवेदनको लागि दर्ता फारम खुलिसकेको छ जुन भदौ १५ सम्म फारम भर्न सकिनेछ । २०७६ असोजदेखि यस वर्षको भदौसम्मका गीत सङ्गीतहरूलाई समावेश गरिने र नव प्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्ने छ ।

क्रियटिभ इन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले व्यवस्थापन गर्ने भएको छ । संचारकर्मी सूर्य चन्दको अध्यक्षतामा हुने अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन वैरागी पण्डित रहेका छन् । अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । आयोजक अनुसार उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्व विशेष गीत (तीज, दसैँ तिहार, होली), भजन, पप आधुनिक गायक-गायिका, भाषा-भाषिक गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिक लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने छ । शुभकामना मिडिया सोलुसन प्रालिको कार्यालय कपुरधारा सामाखुसीमा सम्पर्क गरेर आवेदन भर्न सकिनेछ।