सानो बजार अनि देश भर सीमित चलचित्र हल हुँदा पनि नेपाली फिल्म निर्माताहरुले आफ्नो चलचित्रले गरेको कमाइ सजिलोसँग लिन सक्दैनन् । हलवालादेखि वितरकले निर्मातालाई लामो समय झुलाएर पैसा नदिने पुरानै रोग हो । चलचित्र हलबाट उत्रिएपछि पनि लामो समय शेयर नपाउने गुनासो धेरै सुनिन्छन् । यसै समस्याको सिकार भएको छ गत वर्षको असोज २४ गते रिलिज भएको चलचित्र 'छ माया छपक्कै' । निर्माताका अनुसार देशभरबाट अझै २ करोड भन्दा बढी शेयर पाउन सकेका छैनन् । वितरकसँग पटक पटक यसबारे कुरा गर्दा पनि केही सिप नलाग्दा चलचित्रका निर्माता आक्रोशित बनेका छन् । निर्माता अधिकारीले आफ्नो फेसबुकमा यसबारे गुनासो पोखेका छन् । उनी लेख्छन् : 'असोज २०७६ मा नगदमा चलाएको हाम्रो चलचित्र को पैसा पाको छैनौ वितरक र हलवालाहरू ले अझै दिएका छैनन् भन्न समेत लाज भइसक्यो... होइन निर्मातालाई सधैँ शोषण गरिराख्ने हो सबै मिलेर ? वितरकहरूलाई कमिसनको मात्रै मतलब हो ? ?'
सामाजिक सञ्जालमा समेत आफ्नो समस्या बारे उल्लेख गर्दै आएका निर्माता रोहित अधिकारीले चलचित्रले देशभरबाट कमाइ गरेको २ करोड भन्दा बढी रकम लिन बाँकी रहेको कुरा मिडियामा सार्वजनिक गरेका छन् । उनले काठमाण्डौका गोपीकृष्ण, बीएसआर, पुष्पाञ्जली लगायतका हलबाट ५० लाख भन्दा बढी शेयर रकम र काठमाडौँ बाहिरबाट डेढ करोडको हाराहारीमा शेयर लिनु भएको बताएका छन् । चलचित्रलाई काठमाडौँ बाहिर एफडी कम्पनीले वितरण गरेको थियो । चलचित्र रिलिज भएको १० महिना बढी भैसक्दा पनि शेयर नपाउँदा निकै दुख लागेको उनले सुनाएका छन् । चलचित्र उत्रिएको ३ महिना भित्रमा रकम पाउने गरी सम्झौता भएको जस अनुसार आफूले माघसम्ममा पैसा पाउनुपर्ने उनले बताए । यति बेला आएर वितरकले कोरोनाको कारण देखाएर पैसा नदिएको उनको गुनासो छ । काठमाडौँ बाहिर वितरणको जिम्मा लिएको एफडी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष सुशील पोखरेलले परिस्थिति नै प्रतिकुल भएका कारण केही रकम दिन नसकेको बताएका छन् ।
आफूहरूले पैसा दिनुपर्ने तर समय प्रतिकुल हुँदा पैसाको कारोबार मिलाउन नसकेको स्वीकार गरेका छन् । यति बेला हल सञ्चालकहरू पनि सम्पर्कमा नभएको र हल सञ्चालनमा नआएसम्म पैसा भुक्तानी गर्न असमर्थ हुने उनले बताएका छन् ।