बलिउडका सफल र चर्चित एक्सन डिरेक्टर परवेज खानको निधन भएको छ । ५५ वर्षका खानको सोमबार निधन भएको हो । एक्कासि छातीमा पिडा भएपछि अस्पताल पुर्‍याइएका उनको हृदयाघातका कारण निधन भएको हो । सन् १९८६ देखि निरन्तर बलिउडमा काम गरिरहेका उनको मृत्यु बारे निर्माता हंसल मेहताले ट्विट गर्दै जानकारी दिएका हुन् । खानले एक्सन निर्देशक अकबर बख्शीको सहायको रूपमा आफ्नो करियरको सुरुवात गरेका थिए । उनले अक्षय कुमारको ‘खिलाडी’, शाहरुख खानको ‘बाजिगर’ र बबी देओलको ‘सोल्जर’ जस्ता चलचित्रमा काम गरेका थिए । सन् २००४ मा रिलिज भएको रामगोपाल वर्माको फिल्म ‘अब तक छप्पन’ बाट स्वतन्त्र रूपमा काम गर्न सुरु गरेका थिए । उनले फिल्म निर्माता श्रीराम राघवनसँग जोनी गद्दार, बदलापुर, अंधाधुनजस्ता फिल्ममा काम गरेका थिए । उनले सैफ अलि खानको फिल्म एजेन्ट विनोदमा पनि काम गरेका थिए । उनको निधनमा बलिउड कर्मी र उनका शुभचिन्तकले दुख व्यक्त गरेका छन् भने उनको मृत्युले बलिउडलाई ठुलो क्षति पुगेको बताएका छन् ।