बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको डेढ महिनासम्म पनि हत्या हो या आत्महत्या भनि प्रहरीको अनुसन्धानले केही पत्ता लगाउन सकेको छैन । अनुसन्धानको क्रममा यस प्रकरण नयाँ मोडमा आइपुगेको छ । एक पछि अर्का शङ्कास्पद व्यक्तिको बयान लिइसकेको प्रहरीले घटना बारे कुनै निर्क्योल निकाल्न नसकिरहेका बेला सुशान्तका पिता केके सिंहले उजुरी दर्ता गराएका छन् । सुशान्तकी ‘प्रेमिका’ रिया चक्रवर्तीविरुद्ध विभिन्न गम्भीर आरोप लगाउँदै पिताले उजुरी दिएका हुन् । पिता केके सिंहले आत्महत्या दुरुत्साहन सहित रिया विरुद्ध विभिन्न आरोप लगाएका छन् । एफआईआरमा रियाका परिवारसहित अन्य ६ जनाको समेत नाम उल्लेख छ । उजुरीपछि प्रहरीले फरक कोणबाट अनुसन्धान अघि बढाएको जनाइएको छ । यसअघि नै मुम्बई पुलिसले रियासँग सोधपुछ गरिसकेको छ अब भने उनलाई गिरफ्तार नै गरेर अनुसन्धान अघी बढाइने छ । रिया र उनका परिवारका सदस्य विरुद्ध आईपीसीको धारा ३४१, ३४२, २८०, ४२०, ४०६, ४२० र ३०६ अन्तर्गत उजुरी दर्ता गरिएको हो ।

उजुरीमा रियामाथि सुशान्तलाई प्रेम जालमा फसाएको, ब्ल्याक मेल गरेर पैसा हडपेको, सुशान्तलाई प्रताडित गरेर आत्महत्या गर्नका लागि उत्तेजित गरेको, परिवारबाट टाढिन बाध्य पारेको तथा  भूतप्रेतको कुरा गरेर सुशान्तलाई मुम्बईस्थित घर छाड्न बाध्य पारेको आरोप लगाइएको छ । साथै रियाले सुशान्तलाई भावनामा बहकाउने र तिमीमा दिमागी समस्या भएको भन्दै बारम्बार दुरुत्साहन गरेको र  रियाका परिवारले उपचारको बहानामा सुशान्तलाई आफ्नो घरमा लगेर औषधिको ओभर डोज दिएको र बाहिर रियाले सुशान्तलाई डेंगु भएको र उपचार भइरहेको प्रचार गरेको तर डेंगु नभएको कुरा पिताले उल्लेख गरेका छन् । यी पारिवारिक र व्यक्तिगत कुरा मात्र नभएर पिताले सुशान्तलाई प्रस्तावित फिल्म आउँदा रियाले आफूलाई अपोजिट लिड कलाकारमा राख्नुपर्ने नत्र सुशान्त फिल्म नगर्ने भन्दै सर्त राख्ने गरेको पनि खुलाएका छन् । सुशान्तले आफूसँग यिनीहरूले (रिया र उनका परिवारका  सदस्य) मलाई पागलखाना पठाउन खोजिरहेका छन् तर म केही गर्न सकिरहेको छैन भन्ने जिकिर गरेको पनि उल्लेख गरेका छन् ।

रियाले सुशान्तलाई पागल भएको रिपोर्ट सार्वजनिक गरिदिने धम्की दिएको, उनको बैङ्क ब्यालेन्स कम भइरहेको भन्ने लागेपछि रियाले ८ जुनमा सुशान्तको घरबाट  कैयौँ सामानहरू क्यास, ल्यापटप, क्रेडिट कार्ड, सुशान्तका जरुरी दस्‍तावेज र उपचारका कागजात उठाएर लगेको, रियाले नै जागिरमा राखेकी सुशान्तकी सेक्रेटरी दिशाले आत्महत्या गरेको जसले सुशान्त थप तनावमा रहेको जस्ता कुरा उजुरीमा उल्लेख छन् । यसरी तमाम जटिल अवस्था र सुशान्तले पछिल्लो समय भोगेका कुराहरू बाहिरा ल्याउँदै उजुरी हालेपछि यस घटनाले अर्कै रूप लिने अनुमान लगाउन सकिन्छ ।