नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' दोस्रो सिजनको तयारीमा छ । आगामी असोज महिनादेखि शो सञ्चालन हुने बारे निर्माण पक्षले जानकारी सार्वजनिक गरेको छ । अडिसनको तयारीमा रहेको कमेडी च्याम्पियनको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएपछि च्याम्यिनका शृङ्खलाहरू ओएसआर डिजिटलको युट्युबबाट पनि अपलोड हुने गरी सम्झौता भएको हो । निर्देशक विशाल भण्डारीले राम्रो रकमका साथ र आफूहरूको माग अनुसारकै रकम उपलब्ध भएपछि ओएसआरलाई डिजिटल राइट्स बिक्री गरिएको बताएका छन् । उनले टेलिभिजन क्षेत्रमा नै हालसम्मको उच्च मूल्यमा बिक्री भएको दाबी गरेका छन् । ओएसआरका लागि कमेडी च्याम्पियन निर्माण कम्पनी थ्री प्रोडक्सनले अन्य दुई रियालिटी शोका लागि पनि सम्झौता गरेको छ ।

तीन वटै रियालिटी शोका लागि एकमुष्ट सम्झौता भएको निर्देशक भण्डारीले बताएका छन् । दोस्रो सिजनसँगै कान्तिपुर टेलिभिजनले आगामी पाँच वर्षका लागि यो कार्यक्रममा लगानी समेत गर्नेछ । कमेडी च्याम्पियनलाई दर्शकले राम्रो प्रतिक्रिया दिएपछि टिमले नै ‘घरघरमा कमेडी’ नामको रियालिटी शो छिट्टै सुरु गर्दै छ ।