सफल चलचित्र 'प्रेम गीत' सिरिजका निर्माता-निर्देशक सन्तोष सेन चलचित्र 'प्रेम गीत ४' को तयारीमा जुटेका छन् । निर्माण सम्पन्न भएर प्रदर्शनको तयारीमा रहेको 'प्रेम गीत ३' कोरोना कहरले तोकिएको मितिमा रिलिज हुन पाएन । कोरोना महामारीले चलचित्र सम्बन्धी सम्पूर्ण काम ठप्प भइरहेका बेला फुर्सद को समय सदुपयोग गर्दै 'प्रेम गीत ४'को तयारीमा लागेको सन्तोषले बताएका छन् । उनी भन्छन्, 'प्रेम गीत ४' को आइडियामा काम भइरहेको छ । उनले टिम नै बसेर चलचित्रको आइडियामा काम गरिरहेको बताएका छन् टिममा प्रदीप खड्का र क्षेतेन गुरुङ रहेका छन् । एउटा दमदार विषय वस्तु तयार गर्न निकै समय खर्चिनु पर्ने रहेछ भन्ने कुरा ‘प्रेम गीत ३’ को अनुभवले सिकाएको र अहिलेको फुर्सद को समयलाई सदुपयोग गर्दै उत्कृष्ट विषय छनोट गर्ने क्रममा रहेको सुनाउँछन् । कोरोना कहर कम नहुँदा चलचित्र प्रदर्शन तथा अन्य काम अझै सामान्य रूपमा सुरु हुने लक्षण भने छैन । कोरोना सङ्क्रमण कम भए पनि दर्शक सजिलै छिट्टै हल सम्म जाने वातावरण नभएकाले 'प्रेम गीत ३' को प्रदर्शनमा हतार नगरी यो आगामी चैत महिनाको अन्तिम साता नयाँ वर्षको अवसरमा प्रदर्शन गर्ने तयारीमा टिम लागिपरेको छ ।