मित्रता मान्छेको जीवनको सबैभन्दा ठुलो उपहार हो । असल मित्रले जीवन सुन्दर बनाउन मद्दत गर्छ भने खराब मित्रले जीवनको बाटो कष्टकर बनाइदिन्छ, जीवनलाई गलत बाटोमा दोहोर्‍याउँछ । समाजमा असल मित्रको साथले आफ्नो करिअर तथा सफल र सुखी जीवन पाएका उदाहरण धेरै छन् भने खराब मित्रले गर्दा जीवन जटिल बन्ने देखी दुखद अन्त्य सम्मका घटना हामीले देख्दै सुन्दै आएका छौँ । नेपाली फिल्म इन्डस्ट्रीमा असल मित्रता र सफल जीवन एकसाथ बाँचेका केही उदाहरणीय जोडी छन् । जसमध्ये सबैभन्दा उदाहरणीय र अनुसरणिय जोडी हो वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी । अभिनय अर्थात् कलाकारिताले जोडेको यो जोडी पर्दामा जति रुचाइए जति प्रिय छन् उति नै प्रिय र आत्मीय वास्तविक जीवनमा छन् । हामी उनीहरु एक बिना अर्कोको कल्पना गर्न सक्दैनौँ । पर्दामा दर्शकले यसरी एक बिना अर्कोको काम पुरा भएको सोच्न नसक्नु एक कुशल कलाकारको सबैभन्दा ठुलो सफलता हो ।

तर 'मह' जोडी पर्दामा मात्र होइन वास्तविक जीवनमा पनि एक बिना अर्को अपूर्ण छन् । उनीहरू एक अर्कासँग यती नजिक छन् कि मानौँ दुई एक अर्काका पर्याय हुन्, छाँया हुन् । जब महको 'म' अर्थात् मदन कृष्णलाई कुनै समस्या पर्छ उनले सबैभन्दा पहिले सम्झिने एकै व्यक्ति हुन् महको 'ह' अर्थात् हरिवंश र यो दुवैको हकमा लागु हुन्छ । व्यक्तिगत रूपमा र कामको सिलसिलामा जोडिएका उनीहरू अब त एक सिङ्गो परिवार भैसकेका छन् जसमा एकलाई दुख्दा अर्कोलाई पिडा हुन्छ र एकको खुसीमा दुवैले आफ्नो संसार उज्यालो देख्छन् । यसरी मित्रताले जोडेको यो सम्बन्ध यती गहिरो बनिदिन सक्छ जसलाई न कुनै नामको जरुरत हुन्छ न कुनै सम्मानको । आज मित्रता दिवस मित्रतालाई एउटा जीवनको अभिन्न अङ्ग बनाएर अगाडी बढेका र युगौँसम्म सबैको मनमा बस्ने युग पुरुषहरूलाई सम्झिएर मनाऔँ । मित्रता दिवसको सबैलाई शुभकामना!!