अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार निर्माता भुवन केसी बिचको दोषारोपले कानुनी बाटो लिएको छ । साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए । अब भने साम्राज्ञी पनि चुप नबस्ने भएकी छिन् । उनले कलाकार तथा निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने तयारी गरेको बताएकी छिन् । भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटाविरुद्ध पनि मुद्दा हाल्ने साम्राज्ञीले बताएकी छिन् । ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्थ खुवाएको’ बताएका थिए । जुन अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । भुवन र उनका वरपरका मान्छेहरूले आफूमाथि सामूहिक हमला गरिरहेको र आफूमाथि घिनलाग्दो तरिकाले जाइलागेको अभिनेत्री शाहको भनाइ छ ।
उनले सञ्चार माध्यममा आफूले सबै कुरा बुझेर मात्र केस गर्ने जनाएकी छिन् । साम्राज्ञी भन्छिन्, 'उहाँ (भुवन)ले मान्छे लगाएर मेरो दुर्व्यवहार गरिरहनु भएको छ, चरित्रहत्या गर्ने प्रयास गरिरहनु भएको छ, केटी मान्छे हो, डराउँछे, फिल्म क्षेत्र नै छोड्छे भनेर उहाँ र उहाँका मान्छेले सोच्नु भएको होला तर म डराउँदिन, पछाडि हट्दिनँ ।' उनले यस्तो किसिमको आक्रमणले चलचित्र क्षेत्रमा आउन चाहने नयाँ महिला कलाकारहरू र उनीहरूका अभिभावकहरू हतोत्साहित हुने र समग्र क्षेत्रमा नै असार गर्ने हुँदा आफू पछि नहट्ने अडान राखेकी छिन् ।