क्लोथिङ्ग ब्रान्ड ‘डक्टर डेनिम’(डा. डेनिम)ले नेपाली चलचित्र निर्माण गर्ने भएको छ । आगामी वर्ष रिलिज हुने गरी प्रेमकथामा आधारित रहेर चलचित्र निर्माण गरिने  ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताएका छन् । हाल चलचित्रको नाम राखी नसकिएको भए पनि यसमा ‘प्रेम गीत ३'का अभिनेता मनिष राउतको प्रमुख भूमिका रहने बताइएको छ । मनिष ‘डक्टर डेनिम’को ब्रान्ड एम्बेसडर समेत रहेका छन् । सिइओ गौतमले नायिका भने छनौट नभएको जानकारी दिएका छन् । चलचित्रका निर्देशक, लेखक सहित अन्य टिमको भने जानकारी गराइएको छैन । सामान्यतया निर्देशक तथा लेखकको बारेमा कलाकारहरू भन्दा पहिले जानकारी दिइने गरिने भएता पनि निलुसले बनाउने चलचित्रमा नायकलाई पहिले परिचित गराइएको छ । केही समयमा नै चलचित्रको शीर्षकसँगै लेखक तथा निर्देशकको परिचय दिने योजना रहेको निर्माता गौतमले बताएका छन् । 'मनिषको क्रेज देखेरै हामीले लामो समयसम्मको लागी ब्रान्ड एम्बेसडर बनाएका थियौँ । उहाँको क्रेजबाट हामीले हाम्रो ब्रान्ड स्थापित गर्न सफल बन्यौँ । अब हामीले उहाँलाई नै लिएर चलचित्र बनाउन लागेका छौँ', निर्माता गौतमले भने ।

उनी थप्छन्, 'मनिषको क्रेज मात्र नभएर उहाँको अभिनय क्षमताले पनि हामी प्रभावित छौँ । हामीले 'प्रेम गीत ३'को टीजर तथा ओस्कार कलेज पढ्ने बेलामा गरेको केही लघु चलचित्रको अभिनय हेरेका थियौँ । उक्त चलचित्रमा उहाँले गरेको अभिनयले भोलिको स्टार बन्ने ढोका खोल्नेमा म ढुक्क छु' । स्क्रिप्ट तयार भइसकेको यो चलचित्र नेपाल, जर्मनी र भारतको गोवामा छायाङ्कन हुने बताइएको छ । चलचित्रको लागी मनिषको जोडीको रूपमा रहने नायिकाको लागि अभिनय क्षमता सहितकी नयाँ कलाकारको खोजी भईरहेको छ । अभिनेता राउत अभिनीत चलचित्र 'प्रेम गीत ३' कोरोनाभाइरस महामारीको कारण रिलिज हुन पाएको छैन । उनको एउटा पनि चलचित्र रिलिज नभए पनि उनको क्रेज निकै छ ।