अभिनेत्री निरुता सिंहले भुवन केसीलाई आफ्नो सपनाको महानायक भने पछि उनी विवादित भएकी छिन् । नेपाली चलचित्र 'दक्षिणा' बाट नेपाली फिल्म इन्डस्ट्रीमा पाइला राखेकी सिंहले सामाजिक सञ्जालमा आफू चलचित्रमा प्रवेश गर्दाको समय र आफूले पहिलो चलचित्रमा नै आफ्नो सपनाको महानायकसँग काम गर्न पाएको खुसी साँट्दै फेसबुकमा स्ट्याटस राखेकी थिइन् । उनले आफूले सपनामा पनि भुवनसँग काम गर्न पाउने भन्ने नसोचेको तर समयले आफूलाई त्यो अवसर दिएको भनी उल्लेख गरेकी छिन् । यति मात्र होइन उनले भुवनले आफू नयाँ कलाकार हुँदा गरेको सहयोग दिएको साथको कुरा सम्झिँदै आभार पनि प्रकट गरेकी छिन् । उनले आफूले नेपाली कलाकारलाई पहिले चिनेको भनेकै भुवन र तृप्ति नाटकरलाई हो भनी लेखेपछि सामाजिक प्रयोगकर्ताहरू उनी विरुद्ध उत्रिएका हुन् । नेपाली फिल्म इन्डस्ट्री महानायक विवाद र साम्राज्ञी आर एल शाह र भवन केसीको विवादले तातेको बेला निरुताले दिएको यस अभिव्यक्तिको खण्डन धेरैले गरेका छन् । नेपाली फिल्म जगतकी एक समयकी निकै सफल र प्रिय नायिकाको यस अभिव्यक्ति ठिक रहेको भनी विचार राख्ने पनि धेरै छन् । आफ्नो अभिव्यक्तिलाई लिएर आलोचना भएपछि निरुताले फेरी अर्को स्ट्याटस पोस्ट गर्दै आफ्नो अभिव्यक्तिको स्पष्टीकरण दिएकी छिन् ।

भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको संरक्षण गरेको भनी उनीमाथि प्रहार हुँदा निरुताले उनले राजेश हमाललाई आफूले पनि ‘महानायक’ मान्ने बताउँदै लेखेकी छन्, ‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाइ अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ती सबै अग्रज कलाकारहरू नै महानायक अनि महानायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पुर्‍याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’ उनले आफ्नो लागी महानायक राजेश हमाल हैन भुवन केसी हो भनेर कहिल्यै नभनेको, आफ्नो लागी पनि महानायक राजेश हमाल रहेको र उनलाई सम्मान गर्ने, राजेश हमाल लगायत भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य,मदन कृष्ण श्रेष्ठ, नीर शाह दाइ आदि कलाकारहरू पनि महानायक नै रहेको लेखेकी छिन् । उनले यी सब आफ्नो व्यक्तिगत धारणा र अनुभव रहेको साथमा आफूले भुवनको चम्चागिरी गर्नु नपर्ने समेत उल्लेख गरेकी छिन् । यो सँगै आफ्नो स्ट्याटसको मर्म नबुझी र अर्थको अनर्थ लगाइ आरोप लगाउनु उचित नभएको बताएकी छिन् । कोरोना महामारीले गर्दा भोलि के होला भन्ने निस्चित नभएका बेला यसरी एउटा विषयमा केन्द्रित भएर अल्झिनु उचित नभएको उनको भनाइ छ । साथै उनले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै 'आजसम्म माया अनि सम्मान दिनु हुने साथै मैले भन्न खोजेको कुराको सही मतलब बुझी दिनु हुने मेरो सम्पूर्ण समझदार,माननीय,पूजनीय अनि ढोगनिय दर्शक, फ़ैनहरूमा म निरूता सिंह दुई हात जोडी हृदय देखी नै धन्यवाद टक्राउँदछु', लेखेकी छिन् ।