पछिल्लो समय पर्दामा खुबै रुचाइएका बलिउड अभिनेता हुन् रणवीर सिंह । अभिनयमा चर्चित र दर्शकको मन जितेका सिंह अब भने निर्माता बन्ने भएका छन् । १० वर्ष अभिनय यात्रामा सफलता कमाएका रणवीरले निर्माण कम्पनी 'माँ कसम फिल्म्स' खोलेका छन् । बलिउड मिडियाका अनुसार उनले आफ्नी आमा अन्जु भावनानीसँगको सहकार्यमा यस फिल्म निर्माण कम्पनी खोलेका हुन् । यस कम्पनी सन् २०१७ को डिसेम्बरमा नै दर्ता भएको थियो । केही समय अभिनय गरेर दर्शकको विश्वास कमाएका अभिनेताहरूले आफै फिल्म निर्माण कम्पनी खोल्ने चलन बलिउडमा चलिआएको छ । यस अघि रणवीरले  नवजार इरानीसँग स्वतन्त्र सङ्गीत उत्थानका लागि म्युजिक कम्पनी ‘इन्कइन्क’ पनि खोलेका थिए । साथै उनले आफ्नी श्रीमती अभिनेत्री दीपिका पादुकोडसँग सहकार्य गरेर 'चल्क एन्ड चिज इन्टरप्राइजेज' खोलेका छन् । रणवीरले फिल्म निर्माण कम्पनीको नाम आफ्नो आफ्नी आमासँग मिलेर खोलेका हुनाले नाम 'माँ कसम' राखेका हुनसक्ने अथवा आफ्नो व्यक्तित्व अनुसार नामकरण गरेको हुनसक्ने भनी बलिउड कर्मीले टिप्पणी गरेका छन् ।