गायक प्रकाश सपुतको शब्द तथा सङ्गीत रहेको गीत 'बदला बरिलै...' निकै रुचाइएको छ । देवी घर्तीको स्वर रहेको गीत युट्युबमा सार्वजनिक भएको तीन दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ । सार्वजनिक गीतको भिडियोमा नायिका केकी अधिकारी र ध्रुव कोइराला मुख्य भूमिकामा रहेका छन् । दर्शकले गीतको कथा बस्तु र प्रसङ्ग रुचाएका छन् । यति बेला सम्म गीत ९ लाख २१ हजार बढिले हेरिसकेका छन् भने ७२ हजार बढिले लाईक र ८ हजार ६ सय बढिले कमेन्ट गरेका छन् । गीत सार्वजनिक भएसँगै दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । समसामयिक विषय वस्तु अनि बलात्कार जस्तो जघन्य अपराध दुरुत्साहन गर्दै निर्माण गरिएको भिडियो दर्शकले मन मात्र पराएका छैनन् धेरै ठाउँमा आफू भावुक भएको र पिडा महसुस पनि गरेको प्रतिक्रिया दिइरहेका छन् । प्रकाश सपुतको निर्देशन र कन्सेप्ट रहेको गीतको भिडियोले महिला हिंसा र बलात्कार विरुद्ध आवाज उठाएको छ । गीतले जति नै यस अपराधबाट लुक्न र चोखिन खोजे पनि उक्त अपराधीले सजाय पाउने कुरा देखाइएको छ । ठुला ठुला सपना बोकेर अगाडी बढ्न खोजेका सयौँ युवतीले आफूले विश्वास गरेको र सम्मान गरेको व्यक्तिले बलात्कार जस्तो पाप गरी सपना मात्र होइन जीवन नै तहसनहस गरिदिने यथार्थलाई गीतमा प्रस्तुत गरिएको छ ।