प्रकाश सपुतको लेखन र परिकल्पना तथा निर्देशन रहेको गीत 'बदला बरिलै' यति बेला चर्चामा छ । गीतले समाजमा बढिरहेको बलात्कारको घटनाविरुद्ध आवाज उठाएको छ भने भिडियोले त्यो भन्दा बढी एउटा सपना बोकेर हिँडेकी युवतीको कसरी कसैको कुदृष्टिको कारण जीवन समाप्त हुन्छ भन्ने कुरा मार्मिक रूपमा प्रस्तुत गरेको छ । तीजको प्लेवरमा बनेको यस गीतले एउटा यस्तो कथा बोकेको छ जुन धेरै बालबालिका युवायुवती, तथा महिलाले भोगेका छन् । यी मध्य केही घटना बाहिर निस्किएका छन् कति अझै पनि आवाज बनेर बाहिर आएका छैनन् । कतिपय केशमा घटनाले ठुलो रूप लिँदा पनि अपराधी कानुनको दाय रामा आउन सकेको छैन भने केहीले न्याय पनि पाएको देखिन्छ तर जुन हिसाबले न्याय पीडितले पाउनु पर्ने हो त्यो अझै पाएको देखिँदैन । गीतले यस्तै एक युवतिको कथा बोलेको छ जहाँ प्रतिष्ठाको आडमा एक अपराधी कहिल्यै अपराध बोध नभै खुलेआम सम्मानित जीवन बाँचिरहन्छ । यस गीतमा पीडित युवतीको भूमिकामा छिन् अभिनेत्री केकी अधिकारी । यस गीतको निर्माण देखी यससँग सम्बन्धित अनुभवको बारेमा नायिका केकी र गायक प्रकाश सपुतले हामीसँग कुरा गरेका छन् ।

यसबारे सपुतले हाम्रो समाजमा कुनै पनि घटनाको प्रभाव लामो समयसम्म नपर्ने र कुनै पनि हिंसा अपराधबारे लामो समय आवाज नउठ्ने प्रवृत्ति राम्रो नभएको र यस गीत मार्फत आफूले बलात्कार जस्तो अपराध मान्छेले कहिल्यै नबिर्सियोस् र पीडितले न्याय नपाइ नसेलाओस् भन्ने सन्देश दिन खोजेको बताएका छन् । उनले मान्छेले जुन सुकै बेला यस गीत हेरे पनि यस किसिमको घटना सम्झिरहोस् अनि सचेत रहोस् भन्ने आफ्नो उद्देश्य रहेको बताएका छन् । साथै अभिनेत्री केकी अधिकारीले पनि गीत केही दिन चर्चामा आउनु ट्रेन्डिङमा पर्नु राम्रो हो अझ त्यो भन्दा राम्रो यस गीत एक अभियानको रूपमा स्थापित हुन सक्यो भने त्यो भन्दा ठुलो केही नभएको बताएकी छिन् । केकीले यस बारे थप बोल्दै आफूले यस भिडियोमा काम गर्दा समाजमा हुँदै आएका घटनाहरू सबै दिमागमा भएको र आफ्नो लागी केही सेकेन्डको सिन भए पनि कसैको लागी जीवनको अन्त्य हो भन्ने मनमा भएकोले एक हद सम्म गाह्रो भएको अनुभव सेयर गरेकी छिन् ।

गायक तथा यस गीतका रचनाकार/परिकल्पनाकार/निर्देशक प्रकाश सपुतले आफूले यस गीत आफूले एक वर्ष अगाडी देखी दिमागमा बसेको कुरा गीतबाट प्रस्तुत गर्दा निकै आनन्द आएको बताएका छन् । आफूले गीतलाई कहिल्यै व्यावसायिक रूपमा नहेरेको तर धेरै दर्शकमाझ पुगोस् र सबैले यसबारे मनन गर्ने अवसर पाउनुपर्छ भन्ने चाहेको उनले थपेका छन् । यस गीतमा समावेश कथा वस्तु बारे बोल्दै केकीले महिला भएकै कारण हरेक महिला अन्यायमा पर्नुपरेको, दुर्व्यवहार सहनु पर्ने कुरा सुनाउँछिन् । प्रकाशले पनि चेतनाको अभावले गर्दा कति महिलाले आफू हिंसामा परेको पनि थाहा नपाउने र यो स्थिति निकै नाजुक हुने बताएका छन् । यो अझै पनि हाम्रो ग्रामीण समाजमा प्रशस्तै देखिने र आफूले पनि देखेको सुनाएका छन् । आफूमा यस कामको लागि एउटा पागलपन भएकै कारण यो सबै सम्भव भएको बताएका छन् ।