निर्माता निर्देशक सन्तोष सेन यति बेला नयाँ चलचित्रको तयारीमा छन् । 'प्रेम गीत' जस्तो सफल र लोकप्रिय ब्रान्ड स्थापित गर्न सफल सेनले अब भने कमेडी जनराको चलचित्र निर्माण गर्ने तयारी गरिरहेका छन् । नाम ‘हुतुतु’ जुराइएको चलचित्र छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन् । चलचित्रको आगामी वर्षबाट छायाङ्कन सुरु हुने बताइएको छ भने नाम चलेका स्थापित कलाकार फाइनल भएका छन् । चलचित्रको लागी माओत्से गुरुङ, हरिवंश आचार्य, राजाराम पौडेलका साथै प्रदीप खड्का, पल शाह, गौरव पहारी, सलोन बस्नेत, नाजिर हुसेनको प्रमुख भूमिकाको लागी फाइनल गरिएको छ । निर्माण पक्षले यी सबै कलाकारसँग कागजी सम्झौता गरिसकेको छ । चलचित्र विशुद्ध हास्य ब्यङ्ग शैलीमा निर्माण हुने निर्माता सेनले जनाएका छन् भने सम्पूर्ण कलाकारहरू फाइनल भैसकेको पनि उनले बताएका छन् ।

चलचित्रको कथा सन्तोष सेनको रहने छ भने पटकथा छेतन गुरुङ र अभिमन्यु निरवीको रहने छ । चलचित्रको लागी प्राय पुरुष कलाकार फाइनल भैसकेको र यती बेला स्क्रिप्टको काम बहिरहेको तथा अब छिट्टै नै महिला कलाकार पनि फाइनल हुने सेनले जानकारी दिएका छन् । चलचित्रमा पल र प्रदीपको प्रतीक्षा गरिए अनुसार प्रस्तुत हुने भएका छन् । दर्शकले यी दुईलाई एउटै पर्दामा हेर्न चाहेका थिए । अब कोरोना महामारी सकिएपछि चलचित्र फ्लोरमा जाने सेनको भनाइ छ । यसको बजेट ठुलो हुने तर कति हुने भन्ने यकिन नभएको उनी बताउँछन् ।