यति बेला नेपाली फिल्म इन्डस्ट्रीमा एक किसिमको भावुक स्थिति सृजना भएको छ । एक टेलिभिजन कार्यक्रममा पत्रकार प्रकाश सुबेदीले 'दारा भएकाहरूलाई मिलाई मिलाई महानायिका बनाइदिनुपर्ने' भन्ने अभिव्यक्ति दिएपछि निराशा एवम् असन्तुष्टि पैदा भएको हो । उनले यसरी नायिका अर्थात् महिला कलाकारलाई लक्षित गरेर यस किसिमको अभिव्यक्ति दिँदा नेपाली फिल्म इन्डस्ट्रीमा महिला कलाकर्मीलाई हेरिने नजरिया कस्तो रहेको छ भन्ने अझ स्पष्ट भएको छ । यस विषयमा नायिका तथा महिला कलाकर्मीले असन्तुष्ट प्रकट गरेका छन् । यसै बिच सञ्चार कर्मी सुवेदीले आफूले बोलेको शब्द कसैप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् । चौतर्फी आलोचना भए पछि उनले आफ्नो भन्ने शैली गलत भएको र आफ्नो भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित नभएको पनि भनेका छन् ।

उनी भन्छन्, 'भविष्यमा शब्द चयन गर्दा ध्यान दिनेछु । चलचित्र क्षेत्र मेरो परिवार हो । चलचित्र क्षेत्र छ र त म छु, चलचित्रकर्मी छन् र त मैले कार्यक्रम चलाउन पाएको छु । एक पटकले पुग्दैन भने सय पटक, सय पटकले पुग्दैन भने हजार पटक र हजार पटकले पुग्दैन भने लाख पटक माफी माग्छु' । प्रकाशले बोलेको शब्दले आफूलाई ह्यारेसमेन्ट भएको भन्दै नायिका पूजा शर्माले विभिन्न निकायमा उजुरी दिइसकेका छन् । आफू विरुद्ध यसरी विभिन्न निकायमा उजुरी परेको दिन नै प्रकाशले माफी मागेका हुन् । आफूले यो शब्द प्रयोग गरेपछि पाएको प्रतिक्रियाले गम्भीर बनाएको समेत बताएका छन् ।