अभिनेत्री प्रियंका कार्कीले पत्रीकामा प्रकाशित एक लेखलाई लिएर आपत्ति जनाएकी छिन् । प्रियंका बिहेपछि संस्कारी भएकी भनी लेखिएको उक्त लेखमाथि उनले आपत्ति जनाएकी हुन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै असन्तुष्टि पोखेकी छिन् । उनले प्रकाशित लेखको लिङ्क समेत राखेर समाजले महिलालाई कसरी लिएको छ र कसरी प्रस्तुत गर्छ भन्ने कुरा उल्लेख गरेकी छिन् । उनी लेख्छिन्, 'के तपाईँका छोरी-चेली संस्कारी छन् ? छैनन् ? बिहे गरिदिनुस्... शरीर ढाकिदिनुस्... चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरू संस्कारी हुन्छन्... सपना नदेखाउनुस्... 'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस्... चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ... बिहे नटिके 'समाजले कुसंस्कारी भन्छ फेरि' ... धन्यवाद नागरिक परिवार, अब समाज साँच्चै सुध्रने छ...संस्कारी बन्नेछ... उनले पछिल्लो केही समय देखी कलाकार माथि साँघुरो मानसिकता राख्ने र यसको सिकार बनाइने भन्दै उक्त स्ट्याटसमा दुख व्यक्त गरेकी छिन् ।
उनी अगाडी लेख्छिन्, 'विगत केही समय यता, हामी महिला कलाकारहरू निरन्तर यस्ता साँघुरो मानसिकताको सिकार बन्दै गएको देख्दा चिन्ता त लाग्छ नै, साथै एक किसिमको डर पनि लाग्छ। डर यस कारण पनि कि, हामी बिच यस्ता साँघुरो सोच भएका मान्छे मात्र छैनन्, ती मान्छेहरू पुरै समाजलाई 'प्रभाव' गर्न सक्ने ठाउँमा समेत छन्। कहिले आफ्नो द्वेष पुरा गर्न त कहिले ईर्ष्या, केही पत्रकार देखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ । कहिले 'बिक्ने समाचार' बनेर त कहिले 'हिजो आएकाले हेप्ने' भन्दै, हामी समाजलाई 'महिला कलाकारहरू' तर्फ झनै नकारात्मक बनाउँदै छौँ । उनले अब महिला कलाकार सम्मान गर्न लायक नभएको हो ? भनी प्रश्न गरेकी छिन् । महिला कलकारलाई सधैँ ग्ल्यामर, शारीरिक सुन्दरता र 'बिक्ने समाचार' को रूपमा मात्र लिइने हो त भनी अर्को उठाएकी छिन् ।