मह जोडीलाई यस वर्षको 'भुवन चैत्य वसुन्धरा' पुरस्कार प्रदान गरिएको छ । 'भुवन चैत्य वसुन्धरा' फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई यस सम्मानबाट विभूषित गरेको हो । फाउन्डेसनकी अध्यक्ष वसुन्धरा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा मह जोडीलाई ५१ हजार राशिसहित सम्मान प्रदान गरिएको हो । यो फाउन्डेसनले हरेक वर्ष कला क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई पुरस्कृत गर्दै आएको छ । उक्त फाउन्डेसनले केही दिनअघि नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र चरित्र अभिनेत्री शकुन्तला शर्मालाई ५१ हजार नगद राशिसहित ‘चेतनारायण वसुन्धरा भुसाल पुरस्कार’ बाट सम्मान गरेको थियो ।

भुवन चन्द नेपाली फिल्मको पहिलो नायिका, चैत्य देवी प्रथम रङ्गिन नेपाली फिल्मकी नायिका र वसुन्धरा भुसाल प्रथम हास्य अभिनेत्रीको नामबाट स्थापना गरिएको यस फाउन्डेसनले कला क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याएका कलाकर्मीलाई यसरी नै हरेक वर्ष सम्मान गर्ने गरेको छ । कोरोना महामारीका बिच सामान्य कार्यक्रम गरी सीमित व्यक्तिको उपस्थितिमा पुरस्कार हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको थियो ।