काठमाडौँ लगायत देशका विभिन्न स्थानमा कोरोना सङ्क्रमण बढेसँगै यसको जोखिम बढेको छ । दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा जनजीवन प्रभावित भएको छ । यसै बिच लकडाउन खुकुलो भएसँगै जुरमुराउन कोसिस गरेको नेपाली फिल्म इन्डस्ट्री पुनः सेलाउने सङ्केत देखिएको छ । सरकारले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्किन र सावधानी अपनाउन आग्रह गरेसँगै कलाकर्मीले पनि आवश्यक सावधानी अपनाउन थालेका छन् । यसै बिच हास्य कलाकार केदार प्रसाद घिमिरे(माग्ने बुढा)ले आफू र आफ्नो परिवार सुरक्षित हुनको लागी आफ्नो घरमा नआउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मा एक स्ट्याटस पोस्ट गर्दै, 'कृपया मेरो घर तिर नआउनुहोला । भेट्न परे मै त्यता आउँला' लेखेका छन् । कोरोना सङ्क्रमणको सङ्ख्या अत्यधिक बढ्दै जानु र मृत्यु हुनेको सङ्ख्या पनि दिन दिनै ठुलो सङ्ख्यामा बढेका कारण सबैले सावधानी अपनाउनु पर्ने भएको छ । सोही जोखिमलाई न्यूनीकरण गर्न, आफू र आफ्नो परिवार सुरक्षित बनाउन घिमिरेले यस निर्णय लिएका हुन् । जुन अहिलेको समयमा आवश्यक छ । आफ्नो घरमा आउने परिचित एवम् आफन्त बाट पनि जोखिम भएका कारण उनले सबैलाई सचेत गराएका हुन् ।