अस्कर इन्टरनेशनल कलेजमा फिल्म सम्बन्धी अध्ययन गरिरहेका दश विद्यार्थीले सिंगापुरको फिल्म स्टुडियोबाट ‘बुरसरी अवार्ड’ प्राप्त गरेका छन् । कलेज स्थापनाको दिनमा सिंगापुरमा रहेको इन्फिनिट स्टुडियोसँग यो वर्षका लागि १० जना विद्यार्थीलाई अवार्ड प्रदान गर्ने अस्कर कलेजका प्रधानाध्यापक विनोद पौडेलले जनाएका छन् । यसअघि स्टुडियोले ५ जनालाई बर्सेनि छात्रवृत्ति प्रदान गर्दै आएको थियो । यस वर्ष ३५ हजार रकमसहितको यो छात्रवृत्ति कलेजले तेस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गर्दै आइरहेको थियो । प्रदान गर्ने बुरसरी शीर्षकमा बाँड्न लागेको अवार्ड भने पहिलो, दोस्रो र तेस्रो तीनै तहमा अध्ययन गर्ने विद्यार्थीले प्राप्त गर्ने पौडेलले जनाएका छन् । १७ हजार ५ सय नगद रहेको यो छात्रवृत्ति पहिलो र दोस्रो वर्षमा चार–चार जनालाई बाँडिने र अन्तिम वर्षमा दुई जनालाई बाँडिने उनले थपे । यी  दुई कलेजले वि.सं २०७३ सालदेखि यो विषयमा सहकार्य गर्दै आएका छन् । कलेज र स्टुडियोबिच अरू कुरामा पनि सहकार्य गर्ने सम्झौता भएको छ । कोरोना भाइरसका कारण विशेष परिस्थिति सिर्जना भएकोले अति आवश्यक विद्यार्थीलाई थोरै भए पनि राहत होस् भनेर यो अवार्ड दिइएको पौडेल प्रस्ट पारे । साथै आगामी वर्षहरूमा पनि यो सहकार्यले निरन्तरता पाउनेमा आशावादी रहेको बताएका छन् ।