कान्सर जस्तो रोगलाई जितेर नयाँ जीवन पाएकी नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला हाल नेपालमा छिन् । पछिल्लो समय अभिनेत्री कोइरालाको व्यस्तता चलचित्रमा भन्दा बढि सामाजिक सेवामा बढि हुन थालेको छ । विभिन्न सामाजिक र व्यावसायिक संघ–संस्थाकी ब्रान्ड एम्बेसडरसमेत रहेकी मनिषा राष्ट्रसंघीय जनसंख्या कोषकी ‘सद्भावना दूत’ पनि हुन् ।
केही समय अघि उनी अभिनित बलिउड चलचित्र ‘डियर माया’ रिलिज भएको थियो । हाल चलचित्रमा काम गर्न छोडेर नेपालमा सामाजिक काम मा सक्रिय रहेकी मनिषालाई नेपाल सरकारले सरसफाई दूत नियुक्त गरेको छ भने एनआईसी बैंकको उनी ब्रान्ड एम्बेसडर पनि हुन् ।
अभिनेत्री मनिषा हाल ‘फिस्टुला’ रोगबारे जनचेतना जगाउने अभियानमा सहभागी भएकी छिन् । राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा उनी आइतबार (साउन १५ गते) धरानस्थित बीपी कोइराला चिकित्सा अध्ययन संस्थानमा फिस्टुला रोगबारे त्यहाँ चिकित्सक, नर्स, विरामीसँग अन्तरक्रिया गरेकी थिइन् ।