पछिल्लो समय अभिनेता पल शाह निकै व्यस्त कलाकारको रूपमा रहेका छन् । चलचित्र अनि म्युजिक भिडियोबाट चर्चित अनि सफल अभिनेता बेलाबेलामा चर्चामा आइरहन्छन् । एक पछि अर्को गर्दै म्युजिक भिडियोमा व्यस्त रहेका पलले कोरोना सङ्क्रमणको महामारी फैलिरहँदा उनले सेड्युलमा रहेका सम्पूर्ण छायाङ्कनको काम रोकेका छन् । बेलाबेला आफूले भोगेका र बेतिथिप्रति असन्तुष्टि सामाजिक सञ्जालमा पोख्दै आएका पलले आफ्नो पछाडि बसेर कुरा काट्नेमाथि आक्रोश पोखेका छन् । उनले आफू विरुद्ध लाग्ने र कुरा काट्ने विरुद्ध घुमाउरो तरिकाले झटारो हानेका छन् । 'अहङ्कारी मानिस समुन्द्रलाई तलाउ देख्छन् । तलाउमा ढुङ्गा हान्दा उत्पन्न हुने तरङ्ग हेर्दै खुसी हुन्छन् । शान्त समुन्द्रको लहरासँग खेल्दै रमाइलो मान्छन् । शालीनताको फाइदा उठाउँदै आफ्नो खुसीका लागि अरूलाई प्रहार गरिरहन्छन् । फलस्वरूप समुन्द्रले भयङ्कर सुनामीको रूप लिन्छ ।

सुनामी निर्मम बनेर विध्वंस मच्चाउँछ । त्यसैले शान्त र शालीन छ भनेर कुनै मानिसमाथि एकोहोरो प्रहार नगर्नुहोस् । भित्ताको त कान हुन्छ भन्छन्, आफू महान देखिन अरूको कुरा काट्दै नहिँड्नुहोस् । किनकि, तपाइको आँखालाई प्रदूषित तलाउ देखे पनि वास्तवमा त्यो तपाइलाई निमेष भरमै सिद्ध्याउन सक्ने समुन्द्र हुन सक्छ । जसले तपाइको हैसियत सम्झाउने मात्र होइन बिर्सन नसक्ने धक्का पनि दिन सक्छ । चेतना भया ।' उनले आफू विरुद्ध लाग्ने मान्छेको नाम भने लिएका छैनन् । तर आफ्नो पछाडि बसेर कुरा काट्ने र खुट्टा तान्ने लाई चुनौती दिएका हुन् । आफू चुप बसे पनि सबै कुरा सहेर हिँडे पनि कुनै दिन आफू सुनामी झैँ उर्लन सक्ने भाव व्यक्त गरेका छन् ।