नेपाली काँग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्मा टेलिभिजन होस्टको रूपमा प्रस्तुत हुने भएका छन् । कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रम 'ऐना'मा शर्मालाई कार्यक्रम प्रस्तोताको रूपमा देखिने भएको हो । कार्यक्रम आगामी कात्तिक ७ देखि प्रसारण हुने छ । दि होराइजन मल्टिमिडिया प्रालिले निर्माण गर्न लागेको कार्यक्रमका २६ एपिसोड प्रसारण हुने छ । कार्यक्रम सामाजिक र मानवीय मुद्दालाई केन्द्रमा राखेर निर्माण हुनेछ । हरेक साता एक घण्टा प्रसारण हुने कार्यक्रमका प्रोजेक्ट हेडमा राधाकृष्ण धिताल, निर्देशकमा अमन प्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, अनुसन्धान प्रमुखमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाले भूमिका निर्वाह गर्नेछन् ।
कार्यक्रम विशुद्ध सामाजिक मुद्दामा मानवीय पक्षलाई प्राथमिकतामा राखेर निर्माण गरिने प्रोजेक्ट हेड राधाकृष्ण धितालले जनाएका छन् । उनले भने, 'देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरूको अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरूसँग छलफल गरी कुनै पनि विषयमाथिको प्याकेजका रूपमा कार्यक्रम तयार हुनेछ ।' राजनीतिबाहेक साहित्य र सङ्गीतमा समेत सक्रिय युवा नेता विश्वप्रकाश शर्मालाई अब भने टेलिभिजन प्रस्तोताको रूपमा आउने भएका छन् ।