म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाएको दृश्य समावेश गरेर सार्वजनिक गरिए पछि यसको विरोध चौतर्फी भएको छ । गायक गेल्जङ दोर्जे तामाङको आवाज रहेको  'देशद्रोही' नामको म्युजिक भिडियोमा उक्त दृश्य समावेश भएको थियो । सबैतिर आलोचना भएपछि महानगरीय अपराध महाशाखाको टोलीले भिडियो बनाउने 'क्यामेरा म्यान' पक्राउ गरेको छ । टोलीले मङ्गलवार उनलाई काठमाडौँबाट पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । प्रहरीले दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ । सोमबार एक युट्युब च्यानल मार्फत 'देशद्रोही' नामको म्युजिक भिडियो सार्वजनिक भएको थियो । त्यस भिडियोको ४० औँ सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियो छ । महाशाखाका प्रवक्ता ईश्वर कार्कीले भने,'वितृष्णा फैलाउने गम्भीर कसुर गरेको र यसबारे अनुसन्धान गरिरहेको बताएका छन् । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुन सक्नेछ । जस अनुरूप महाशाखाले यस्तो भिडियोलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ ।