हिजो अर्थात भदौ ५ गते हिन्दु नारीहरूको लागी विशेष दिन तीज । हरेक वर्ष झैँ यस वर्षको तीजमा पनि विवाहित महिलाहरू आफ्नो श्रीमानको लामो आयुको कामना गर्दै व्रत बसे भने अविवाहिताले आफ्नो लागी सुयोग्य वर पाउँ भनी व्रत बसे । तर यस चाड भने महिलाले मात्र आफ्ना पती वा प्रेमीको खुसी र सुस्वास्थ्यको लागी व्रत बस्ने भन्ने परम्परा बिस्तार हट्दै गएको छ । यस दिन आफूले प्रेम गर्ने मान्छेको खुसी र सुस्वास्थ्यको लागी महिला वा पुरुष दुवैले व्रत बस्न सक्छन् भन्ने विश्वास गरिन थालिएको छ । हरेक चाड पर्वले सबैलाई मनाउन मिल्ने र यसमा लिङ्ग र जातले फरक नपर्ने भएको छ । यसै कुरालाई विश्वास गर्दै गायक प्रमोद खरेल आफ्नी पत्नीको सुस्वास्थ्य र दीर्घायुको कामना सहित सहित तीजको व्रत बसे । उनले यस बारे आफ्नो सामाजिक सञ्जालमा नै उल्लेख गरेका थिए ।

उनले श्रीमतीले 'आजको दिन सधै श्रीमानको लामो आयुको लागि व्रत बस्छन्,  तर उनी बिराम भएको ३ महिना भयो, सुधार धेरै भएपनि उनी यसपाली सक्दिनन, यसपाली म उनको लागि किन नबस्ने ??? यसपाली मैले उनको लागि व्रत बस्दैछु…' यतिबेला प्रमोदकी श्रीमती अस्वस्थ भएकाले उनी विगत २ महिनादेखि उपचारको क्रममा छिन् । दीपाले दुई महिना अगाडि दोस्रो सन्तानका रूपमा छोरी जन्माएकी थिइन् । त्यसपछि उनलाई मुटुको समस्या देखिएको थियो । मनमोहन अस्पतालमा उपचारपछि अहिले उनी घरमै स्वास्थ्य लाभ गरिरहेकी छन् । हरेक वर्ष आफ्नो लागी व्रत बस्ने श्रीमती बिरामी परेपछि गायक खरेलले पहिलोपल्ट आफै आफ्नी श्रीमतीको लागी व्रत बसेका हुन् । उनले हरेक महिनाको पूर्णिमाका दिन व्रत बस्दै आएकोले आफ्नो लागी व्रत बस्ने कुरा नौलो नभएको बताएका छन् । उनले घरमा नै पूजाआजा गरेर  पानी र फलफूल खाएर व्रत बसेको बताएका छन् ।