आज भदौ ७ गते अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन परेको छ । पछिल्लो समय विवादमा तानिएकी निरौला निकै आलोचित बनिन् । आफ्नो जन्मदिनको अवसरमा दीपाले दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै समस्याबाट भाग्नु भन्दा समस्यालाई व्यवस्थापन गर्नु ठुलो कुरा रहेको बताएकी छन् । उनले ‘महानायक’ विवादको कारण आफूसँग दर्शक असन्तुष्ट भएका कारण उनले समस्याबाट भाग्नु भन्दा समस्यालाई व्यवस्थापन गर्नु ठुलो कुरा भएकाले पुरानो कुरा लिएर आएको बताएकी छिन् । उनी भन्छिन्, 'मेरो अभिव्यक्तिले तपाईँहरू सबैको मन दुखेको छ । कृपया, आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला ।' आफ्नो ३० वर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको बताएकी छिन् ।
हास्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको भनाइ छ । दीपाले भिडियोमा बोल्दै दर्शकहरूको मायाले छ सात वटा चलचित्र र छक्का पन्जाको सिरिजले त झन् यति सफल बनाइदिएको र त्यसको लागि आफूले दर्शकहरू प्रति आभार व्यक्त गर्न चाहेको पनि उल्लेख गरेकी छिन् । उनले आफू विवादमा आएको कुरा उठाउँदै 'पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोस्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरू सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ । र तेस्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ ।' भनेकी छिन् । उनले अबका दिनमा यस्ता गल्ती नदोहोर्याउने बाचा समेत गरेकी छिन् ।