केही दिन अगाडि काठमाण्डौमा एक होस्टेलमा बसेका डाक्टरहरू माथि दुर्व्यवहार भएको थियो । कोरोना महामारीको समयमा अग्र पङ्तिमा रहेर बिरामीको सेवा गरिरहेका चिकित्सक तथा नर्समाथि यसरी दुर्व्यवहार भएपछि सबैतिर यसबारे चर्चा भइरहेको छ । यस्तो जटिल समयमा आफूलाई जोखिममा राखी काम गरिरहेका स्वास्थ्य कर्मीमाथि यसरी दुर्व्यवहार हुँदा सबैको ध्यान आकर्षण भएको छ । यसै विषयमा कलाकर्मीहरूले पनि आफ्नो धारणा राखिरहेका छन् । यसै विषयलाई उदृत गर्दै नायिका वर्षा सिवाकोटीले कोरोना महामारीको समयमा अग्र पङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्सहरूको सम्मान गर्न आग्रह गरेकी छिन् । उनले सामाजिक सञ्जालमा यस विषयमा आफ्नो भनाइ सेयर गरेकी छिन् । उनी लेख्छिन्, 'केही घटनाहरूमा सङ्क्रमितलाई अपहेलित गरिएको, कतिमा त अझ सङ्क्रमितको स्याहारमा लाग्नुहुने डाक्टर​, नर्सहरूमा पनि सङ्क्रमण देखिएपछि उहाँहरूलाई नै टोल छिमेकका सबै मिलेर दुर्व्यवहार गर्ने प्रवृत्ति पक्कै पनि अशोभनीय छ ।'

साथै उनले 'आफ्नो समुदायमा कोही सङ्क्रमित हुनुहुन्छ भने उहाँहरूको विशेष ख्याल राख्ने गरौँ। मानवताकै नाताले नै किन नहोस्, अहिलेको अवस्थामा एक​- अर्कालाई साथ दिऔँ र सहयोग गरौँ' भन्ने अनुरोध गरेकी छिन् । उनी लेख्छिन्, ' यस समयमा आफू र आफ्नालाई सुरक्षित राख्नु पर्ने त छँदै छ​। साथै, स्वास्थ्य सेवा प्रदान गर्न खटिनु हुने सम्पूर्ण डाक्टर​, नर्स, मेडिकल क्षेत्रका सबै र यस्तै सेवा र हामीलाई सुरक्षित राख्न तत्पर सबैको कार्यको सही मूल्याङ्कन गर्न पनि उत्तिकै जरुरी छ​ ।'