नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यही भदौ २९ देखी सकिँदै छ । दैनिक १८ घण्टा बढी लोडसेडिङ भइरहेको हाम्रो देशलाई लोडसेडिङ मुक्त गराउने घिसिङ जनताका प्रिय बनेका छन् । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न व्यक्तिहरू राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेको भनि खबर भइरहेको छ । तर सर्वसाधारण देखी कलाकर्मी सबैले कार्यकारी निर्देशकको जिम्मा घिसिङलाई नै दिइनु पर्ने भनी आवाज उठाइरहेका छन् । यसै विषयमा आवाज उठाउँदै नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले पनि कुलमान फेरि विद्युत् प्राधिकरणमा चाहिने बताएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालमा 'थोरै आफ्नो सोचेर धेरै अरूका लागि गर्ने कमै मानिस हुन्छन् । । कुलमान घिसिङ फेरि चाहिन्छ ।' लेखेकी छिन् । यसै गरी कलाकार हरिवंश आचार्य कुलामानको समर्थनमा लेख्छन्– 'यो देशमा अन्धकार ल्याउनेहरू धेरै छन्, तिनीहरूलाई खोजी खोजी हटाउनुपर्छ । उज्यालो ल्याउनेलाई सम्मान गरौँ । कुलमानको ऊर्जाले देशको ऊर्जा बढ्छ ।' गायक शिव परियारले पनि पुनः एक पटक कुलमान घिसिङले विद्युत् प्राधिकरण हाँकेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्, 'अहिले मात्र हैन सधैँभरि देशलाई उज्यालो चाहिएको छ । अब, नेपाल सरकारको निर्णय कुरेको छु हेरौँ । आशा छ, उज्यालो प्रेमी हामी जस्ता तमाम नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।' सामाजिक सञ्जालमा कुलमान फेरि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनुपर्छ भन्ने आवाज उठिरहेको समयमा सेलिब्रिटीले समेत यसमा समर्थन जनाउन थालेका हुन् ।