फिल्म सम्बन्धी अध्ययनमा रुचि राख्ने सबैलाई खुसीको खबर सार्वजनिक भएको छ । यस खुसीको खबर दिएको हो नेपाल सरकार शिक्षा मन्त्रालयले । नेपाल सरकार शिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्रदेखि नेपालका सम्पूर्ण विद्यालय एवं कलेजहरूमा 'फिल्म स्टडी' हुने जानकारी दिएको छ । जसका लागि नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई पाठ्यक्रम निर्माण समितिको पदेन सदस्यको रूपमा आमन्त्रित गरेको छ । कोरोना भाइरसको प्रभाव कम भए लगत्तै आगामी वर्षका लागि पाठ्यक्रम निर्माण गर्ने कार्य सुरु गरिने समितिले जनाएको छ । निमावि तहदेखि कलेज र सबै क्याम्पसहरूमा फिल्मबारे शिक्षा सञ्चालन गर्न सके नेपाली कला, संस्कृति र साहित्यको महत्त्व बढ्ने भएकाले विकास बोर्डले विद्यालय स्तरबाटै फिल्मबारे पढ्न पाइने जनाएको । प्रत्यक्ष अप्रत्यक्ष नेपाली फिल्मको दर्शक बढ्ने, फिल्मको इतिहास जीवित रहने र अबका दिनमा व्यावसायिक शिक्षाहरू आवश्यक रहेको यकिन गर्दै पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रममा फिल्मलाई समेट्न लागिएको हो भन्ने ब्यहोरासँगै विज्ञप्ति जारी गरिएको हो । सुरुमा विद्यालय स्तर र त्रिभुवन विश्व विद्यालय अन्तर्गतका पाठ्यक्रममा फिल्मलाई समेट्ने तयारी गरिएको छ । विकास बोर्डका अध्यक्ष दाहालले यस कदमले फिल्मबाटै नेपाली कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताएका छन् ।