नेपाल आइडल तेस्रो सिजनको फिनाले आज हुने भएको छ । अन्य एपिसोड झैँ स्टुडियोमा आयोजना हुने गायन रियालिटी सो नेपाल आइडल ३ को ग्रान्ड फिनालेमा विजेता घोषणा गरिने भएको हो । विभिन्न चारण पार गर्दै उत्कृष्ट ३ मा पुगेका मध्येबाट जनताको भोटको आधारमा विजेता घोषणा गरिने छ । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका छन् । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसै गरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् ।

कोरोना महामारीबिच जारी लकडाउनले गर्दा शुक्रवारको कार्यक्रममा सीमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल–३ को विजेता घोषणा गरिने प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिएका छन् । गत चैतमै कार्यक्रम सम्पन्न हुनुपर्ने यस कार्यक्रमको फिनाले लकडाउन र कोरोना महामारीले गर्दा भदौसम्म सरेको हो ।