नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' सिजन २ सुरु भएको छ । शोको लागी डिजिटल अडिसन सुरु भएसँगै सिजन २ को प्रारम्भ भएको छ । आज अर्थात भदौ १५ बाट डिजिटल अडिसन खुल्ला गरिएको हो । डिजिटल अडिसन असोज १४ गतेसम्म खुल्ला रहने छ । यस सिजनमा भाग लिन चाहनेले कमेडी च्याम्पियनको एपका गएर बढीमा चार मिनेट ५९ सेकेन्डको भिडियो अपलोड गर्नु पर्ने हुन्छ । ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीका अनुसार १४ गतेसम्म प्राप्त अडिसनबाट कम्तीमा १२० जनालाई फिजिकल अडिसनका लागि छनोट गरिने छ । यद्यपि प्रतिस्पर्धीको कन्टेन्ट र प्रतिस्पर्धीका आधारका यो सङ्ख्यामा केही तलमाथि हुने निर्देशक भण्डारी बताउँछन् । १२० बाट २४ जना छनोट हुने र सोही समयबाट टेलिभिजनमा कार्यक्रम प्रसारण सुरु हुने छ ।
कार्यक्रम कात्तिकको दोस्रो हप्ताबाट प्रसारण गर्ने तयारी रहेको छ भने उत्कृष्ट १५ जनाबाट मात्र भोटिङ सुरु हुने छ । शोको दोस्रो सिजनमा पनि निर्णायकका रूपमा पहिलो सिजन कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनेछन् । शोका विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । 'हासौं र हसाऔं' भन्ने नाराका साथ कोरोना महामारीका बिच दर्शकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रम दर्शकले पहिलो सिजनमा झैँ मन पराउने निर्माण पक्षले विश्वास लिएको छ ।