कोरोना महामारी र जारी लकडाउनले गर्दा यति बेला नेपाली फिल्म इन्डस्ट्री ठप्प छ । चलचित्र सम्बन्धी सम्पूर्ण काम बन्द हुँदा कलाकारहरू पनि यति बेला फुर्सदिला बनेका छन् । जसको कारण कोही घरमा नै बसेर आफूलाई रुचि लाग्ने कार्यमा व्यस्त छन् भने कोही व्यवहारिक काम सिक्ने र यसमा नै समय कटाउने गरिरहेका छन् । यसै बिच नायिका रेखा थापाले आफ्नो फुर्सदको समय फरक तरिकाले बिताउन लागेकी छिन् । लकडाउनको सुरु देखी नै व्यायाम गर्न थालेकी उनले केही महिनामा नै २० केजी ओजन घटाइन् । अब भने उनी १० दिने विपस्यना ध्यानमा बसेकी छिन् । सम्पूर्ण भौतिक कुराबाट टाढा रहेर थापा १० दिन ध्यानमा बस्न लागेकी हुन् । उनले दैनिक १७ घण्टासम्म साधना गरी एक छाक खाना खाएर ध्यान गर्ने छिन् । कोरोना महामारी नभएको भए यति बेला रेखा नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त हुने थिइन् । सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्रमा उनको जोडीको रूपमा अभिनेता सौगात मल्ल देखिँदै छन् । रेखाले पछिल्लो पटक चलचित्रमा 'मालिका' मा अभिनय गरेकी थिइन् । उनले अभिनेत्री सँगै निर्माता निर्देशकको रूपमा काम गरिसकेकी छिन् ।