कोरोना महामारीले घरमा नै बसी रहँदाको समयलाई सदुपयोग गर्दै चलचित्रका लेखक तथा निर्माता निर्देशक आफ्नो आगामी प्रोजेक्टको लागी तयारी गरिरहेका छन् । नयाँ चलचित्रको कथा तथा स्क्रिप्ट तयार गर्दै उनीहरू आफ्नो आगामी प्रोजेक्टको लागी प्रशस्त समय दिन पाएका छन् । निर्देशक नवल नेपालले पनि यस फुर्सदको समयलाई सदुपयोग गरिरहेका छन् । लकडाउनको करिब ६ महिनाको समयमा उनले २ चलचित्रको स्क्रिप्ट तयार गरिसकेका छन् । भने तेस्रोको लागी पनि तयारी गरिरहेका छन् । नेपालले आफूले तयार गर्न लागेको तीन वटा नै चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेको बताएका छन् । उनका अनुसार 'पहिलो चलचित्रमा धार्मिक कथालाई आधुनिक रूपान्तरण गरेर सामाजिक पारिवारिक कथा प्रस्तुत गरिने छ, दोस्रोमा मायाले पालेको छोरी हराएपछि परिवारमा आउने उतार-चढावलाई देखाइने छ भने तेस्रोमा समाजमा व्याप्त रहेको वर्गीकरणको विषयलाई उठाइने छ ।
चलचित्रको कथा तयार गर्नुका साथै उनले दसैँ पछि सम्म पनि उस्तै स्थिति रहिरहे वेब सिरिज निर्माण गर्ने सोच बनाएको पनि बताउँछन् । दसैँपछि पनि चलचित्र क्षेत्र चलायमान भयो र चलचित्रको काम सुरु गर्ने वातावरण बन्यो भने चलचित्रमा नै काम गर्ने हो । त्यस्तो नभए विकल्पमा वेब सिरिजमा काम गर्ने तयारी गरेको उनी बताउँछन् । वेब सिरिजको लागि विभिन्न डिजिटल प्ल्याटफर्मसँग पनि कुरा भइरहेको निर्देशक नेपालको भनाई छ ।