नेपाली चलचित्र 'होरी' इटालीको विश्व प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याबमा समावेश भएको छ । कोरोना महामारीका बिच डिजिटल माध्यमबाट सञ्चालन गरिने 'टोरिनो फिल्म ल्याब'मा यस चलचित्र समावेश भएको हो । कोभिड महामारीका बेला भौतिक रूपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि 'टोरिनो फिल्म ल्याब'ले यस वर्ष अनलाइन ल्याब सञ्चालन गर्न लागिएको हो । ल्याबको आयोजना हुने खबर सँगै सार्वजनिक गरिएको सूचनामा माओवादी द्वन्द्वको समयको कथामा आधारित यस चलचित्र छनौट भएको बताएको हो । सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विभिन्न देशका १२ चलचित्र प्रोजेक्ट छानिएका छन् । अरुणदेव जोशीको निर्देशन तथा पटकथा र सरोज शर्मा सापकोटा निर्माता रहेको चलचित्र 'होरी' डोटेली भाषामा रहेको छ । यसका साथै चलचित्रको नाम पनि डोटेली भाषाबाट लिइएको हो । डोटेली भाषामा 'होरी' भनेको 'होली पर्व' हो । 'होरी' यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब 'लिमु' मा सहभागी भएको थियो ।