लकडाउनको फुर्सदिलो समयमा चलचित्र कर्मीहरू आफ्नो आगामी प्रोजेक्टको लागी जोडतोडले तयारी गरिरहेका छन् । लकडाउनमा चलचित्र सम्बन्धी सम्पूर्ण काम ठप्प भएर घरमा नै थन्किएका निर्माता निर्देशक एवं लेखकको लागी एक हिसाबले फाइदा नै भएको छ । यसैबिच निर्देशक दीपेन्द्र के खनाल आफ्नो नयाँ चलचित्रको स्क्रिप्ट तयार गरिरहेका छन् । 'चिसो मान्छे' नाम दिइएको दीपेन्द्रको आगामी चलचित्रलाई उत्कृष्ट बनाउन दीपेन्द्रले लामो समय खर्चिएका छन् । खनालले 'चिसो वर्ष' नाम दिएको चलचित्रको मुख्य भूमिकाको लागी अभिनेत्री स्वस्तिमा खड्कालाई फाइनल गरिसकेका छन् । स्वस्तिमा सँगै चलचित्रमा अभिनेता अर्पण थापा पनि देखिने भएका छन् । निर्देशक खनालले चलचित्रमा कम उमेरको युवतीको भूमिका रहेको र स्वस्तिमा अझै पनि २०/२१ वर्षकी युवति जस्तो देखिने भएकाले आफ्नो रोजाइमा उनी परेको बताउँछन् । साथै अभिनेता थापा र स्वस्तिमाको उमेर अन्तर धेरै भएकाले पनि चलचित्रको कथाले मागे अनुसारको भूमिका मिल्ने उनको भनाइ छ । सुदूरपश्चिममा छायाङ्कन हुने यस चलचित्र अवस्था सामान्य हुनासाथ फ्लोरमा जाने तयारीमा छ ।