नेपाली कथानक चलचित्र 'ऐना झ्यालको पुतली' दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । सुजित बिडारी निर्देशित यस चलचित्र बुसानको सबैभन्दा ठुलो पुरस्कार राशि रहेको 'न्यु करेन्ट सेक्सन'मा छनौट भएको हो । यस सेक्सनमा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (३५ लाख रुपैयाँ) पाउनेछन् । यस विधामा कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने नियम रहेको छ । ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र हो । यस चलचित्रमा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीय बालिकाको सहरमा गएर पढ्ने सपनाको कथा रहेको छ ।
जति पटक सपनाको नजिक पुगे पनि सपना पुरा नभएको स्थितिलाई झ्यालमा अड्किएको पुतलीसँग तुलना गरिएको छ । यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौँ’ न्यु करेन्टपछि सर्वाधिक पुरस्कार राशि रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । जसको पुरस्कार राशि १० हजार अमेरिकी डलर रहेको छ । बुसानको यो २५औँ संस्करण कोभिड १९को महामारीका कारण भर्चुअल रूपमा आयोजना हुने छ । निर्देशक सुतिजले यसअघि लघु चलचित्र 'सावित्री'को लेखन तथा निर्देशन गरेका थिए ।