नेपाली चलचित्रलाई सधैँ लाग्ने आरोप भनेको यसको कथा र यसले उठान गर्ने विषयको बारेमा नै हो । नेपाली चलचित्रको इतिहास त्यति पुरानो नभए पनि पहिलो पटक नेपाली भाषामा बनेको चलचित्र प्रदर्शनमा आएको नै ७० वर्ष भैसकेको छ । त्यस यता वर्षौँ लगाएर एउटा चलचित्र निर्माण हुने देखी वर्षको सयको हाराहारीमा चलचित्र निर्माण हुने समय आइसकेको छ । तर चलचित्रले सात दशकको यात्रा पार गरिसक्दा पनि लागिरहने आरोप भनेको कथा भन्ने शैली, यसले समेट्ने विषय वस्तु नै हो । पछिल्ला केही वर्ष यता नेपाली चलचित्रले सकारात्मक फड्को मार्न सफल भएको छ । मौलिक कथा, निर्देशकिय कौशल र कलाकारको प्रस्तुतिले ती चलचित्रलाई विश्व बजारले पनि चिन्न सफल भयो । तर हातमा गन्न सफल यिनै चलचित्रलाई मात्र हेरेर नेपाली फिल्म इन्डस्ट्रीले उल्लेखनिय प्रगति गरेको छ भन्न मिल्दैन ।

अझै पनि व्यावसायिक रूपमा बन्ने चलचित्र धेरै ठाउँमा चुक्ने गर्छन् । चलचित्रले उठान गर्ने विषय देखी कथा पटकथा अनि प्रस्तुतिले चलचित्रलाई खल्लो बनाइदिन्छन् । उसो त व्यापारिक रूपमा नै उत्कृष्ट मानिएका चलचित्र पनि यी कुनै न कुनै ठाउँमा चुकेकै देखिन्छ । विश्व चलचित्र बजारसँग नेपाली चलचित्रलाई दाँज्न नमिले पनि हामी चुकेको ठाउँ कुन हो भनेर सोच्नु पर्ने स्थिति आइसकेको छ । सबै भन्दा पहिले अब बन्ने नेपाली चलचित्रले कस्ता कथा समावेश गर्नुपर्छ भनेर बहस हुनुपर्ने आवश्यक छ । हामीसँग यस्ता उत्कृष्ट कला साहित्य सृजना गरिएका छन् जसलाई पर्दामा उतार्दा निकै कलात्मक र आफ्नो पन भेट्टाउन सकिन्छ । लिखित इतिहासको रूपमा रहेका इतिहासदेखी मिठा काल्पनिक उडान भएका उपन्यास तथा कथाहरू हामीसँग छन् । जुन पर्दामा उतार्दा मौलिक र हाम्रै समाज र भावनासँग मेल खाने हुन्छन् । यसै गरी आज भन्दा पहिले पनि प्रायशः गरिएका तर उचित मूल्याङ्कन नभएका चलचित्रलाई बाटो बनाउँदै राजनैतिक आर्थिक र सामाजिक पक्षलाई समेटेर चलचित्र निर्माण गर्ने सकिने कुरा नकार्न सकिँदैन ।

यसरी हामीसँग भएका राजनैतिक घटना र विषय, इतिहासका दस्ताबेज र लिखित कथा, हामीलाई प्रेरणा दिने र समाजका लागी आजीवन लागिपर्ने व्यक्तिका जीवन कथा, देश भित्र र बाहिर जीवन सहज बनाउन बाँच्न र बचाउन गर्ने सङ्घर्षको कथा तथा परिवार समाज र मान्छेको मनको कथा बोकेका बग्रेल्ती कथाहरूलाई लत्त्याएर निर्माण भएका चलचित्रले कहिल्यै आफ्नो पन भन्न सक्दैन । न त हामीले भारतीय र अन्य विदेशी चलचित्रले दिने स्वाद चाखेर नेपाली चलचित्र भन्दै नाक खुम्च्याउन छोड्न सक्छौँ । विदेशी चलचित्रको ट्रेलर हेरेर पहिलो दिनको पहिलो शोको टिकट काट्न हतारिने हामीले हाम्रै चलचित्रमा आफूले खोजेको स्वाद भेटेमा फाइदा त हाम्रै इन्डस्ट्रीमा हुन्थ्यो नि हैन र ? 
(नेपाली चलचित्र र यसले छुटाएका कथाबारे नेपाली चलचित्र समीक्षक विजय अधिकारीले निकै रोचक र तथ्य परक भिडियो तयार पार्नुभएको छ जसको साहयताले हामीलाई यस लेख तयार पार्न निकै सहयोग गरेको छ । हेरौँ भिडियो : )