आज असोज १ गरे नेपालमा 'राष्ट्रिय चलचित्र दिवस'को रूपमा मनाइने गरिन्छ । २०६८ सालदेखि असोज १ का दिन राष्ट्रिय चलचित्र दिवस मनाउन थालिएको हो । नेपाल चलचित्र विकास बोर्ड तथा चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाहरूको पहलमा मनाउन सुरु गरिएको राष्ट्रिय चलचित्र दिवस यसपालि केही फरक तरिकाले मनाइने भएको छ । विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड १९ को कारणले ९औँ राष्ट्रिय चलचित्र दिवस स्थगित भएको चलचित्र कलाकार सङ्घले जनाएको छ । योसँगै चलचित्रकर्मीले एक अर्कासँग शुभकामना साँटेर आजको दिन मनाउनु पर्ने बाध्यता छ । चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा चलचित्रको विकास र यसको इतिहासको सम्झना गर्दै मनाइने चलचित्रकर्मीहरूको पर्वको रूपमा मनाइदै आएको राष्ट्रिय चलचित्र दिवस यस वर्ष विश्वव्यापी रूपमा फैलिएको महामारी कोभिड-१९ को कारणले स्थगित भएको उल्लेख गरेको छ ।

सार्वजनिक विज्ञप्तिमा लामो समयदेखि बन्द रहेको चलचित्र उद्योगलाई चलायमान बनाउन सोच्नु पर्ने बेला आएको र स्वास्थ्य मापदण्ड अपनाएर पुनः सञ्चालन गर्न पाउनु पर्ने माग समेत गरिएको छ । सङ्घका अध्यक्ष रविन्द्र खड्काद्वारा जारी विज्ञप्तिमा, 'लकडाउन र निषेधाज्ञाले गर्दा थला परेको चलचित्र उद्योगलाई चलायमान बनाउन हामी सबैले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । आज असोज १ गतेदेखि धेरै जसो व्यापार व्यवसाय तथा यातायात समेत सञ्चालनमा आएको अवस्थामा चलचित्र क्षेत्र तथा चलचित्रकर्मीहरू सँग प्रत्यक्ष सरोकार राख्ने सिनेमा घरदेखि छायाङ्कनसम्म भौतिक दुरी र स्वास्थ्य मापदण्ड अपनाएर पुनः सञ्चालन गर्न पाउनु पर्ने माग गर्दै सम्पूर्ण चलचित्रकर्मीको तर्फबाट नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछौँ ।' भनी उल्लेख गरिएको छ । सङ्घले राष्ट्रिय चलचित्र दिवस’ को अवसरमा सम्पूर्ण चलचित्रकर्मीहरू लगायत नेपाली चलचित्रहरुलाई माया गर्ने शुभेच्छुकहरूमा शुभकामना समेत दिएको छ ।