नेपाली सर्ट फिल्म 'जुलुङ्गो (अ स्केयरक्रो)' बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा छनोट भएको छ । राजेशप्रसाद खत्री निर्देशित यस चलचित्र बुसानको 'वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन' अन्तर्गत छनोट भएको हो । बुसानले सार्वजनिक गरेको सूचीमा एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको जनाइएको छ । ‘वाइड एंगलः एसियन सर्ट फिल्म’ अन्तर्गत प्रतिस्पर्धामा १० एसियाली फिल्म छन् । नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मङ्गोलिया, कम्बोडिया, बङ्गलादेशको फिल्महरू छानिएका हुन् । विजेताले ‘सोन्जि अवार्ड’का साथै १० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहीबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ । मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सीमित राख्नुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो । पश्चिममा 'भ्याउना' भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ । 'जुलुङ्गो' बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट वञ्चित भएकी बालिकाको कथा हो  ।