कलाकार एवं सामाजिक अभियन्ता सीताराम कट्टेल 'धुर्मुस'ले आइतबार आफ्नो जन्मदिन मनाए । यति बेला रङ्गशाला निर्माणको लागि निर्माण स्थलमा नै रहेका उनले आफ्नो जन्मदिन रङ्गशालामा नै मनाए । जन्मदिनको अवसर पारेर आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै धुर्मुसले फेसबुक लाइभमार्फत निर्माणाधीन रङ्गशालाको बारेमा जानकारी दिएका छन् । उनले कोरोना महामारीको विषम परिस्थितिमा पनि निरन्तर अभियानमा जुटिरहेको बताउँदै अबको १८ महिनामा रङ्गशाला निर्माण सम्पन्न हुने जनाए । यसबारे उनी भन्छन्, 'अबको १८ महिनामा रङ्गशाला ठड्याउने एउटा सङ्कल्प छ, केही महिनाभित्र पहिलो चरणको खुसी साट्ने दौरानमा पनि छौँ, यो खुसी देशको खुसी हुनेछ ।' उनले थपे 'आँट गरिएको छ त्यसलाई तोकिएको समय पुरा त्यसैले म काममै बढी फोकस छु । बाहिरी दुनियाँसँग अलग छु' ।
उनले सबै नेपालीको श्रद्धा र सद्भावको कारणले यो परिस्थितिमा पनि निरन्तर गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियान अगाडि बढिरहेको, यति बेला रङ्गशालामा १६३ जना श्रमजीवी दाजुभाइ दिदीबहिनी जोडिएको र काम निरन्तर भइरहेको समेत जानकारी दिए । रङ्गशालाभित्रको कार्यालयबाट फेसबुक लाइभमा आएका उनले रङ्गशाला सबैको साँझ परियोजना भएको बताउँदै अझै बढी साथ सहयोगको खाँचो भएको र कोही इच्छुक स्वदेश फर्किँदै गरेको र आफूसँग सीप छ भने रङ्गशाला निर्माण कार्यमा जोडिन सक्ने समेत जानकारी दिएका छन् ।