कलाकार तथा निर्देशक ज्योति काफ्ले नयाँ हास्य टेलिश्रृंखला लिएर आउने भएका छन् । काफ्लेको लेखन तथा निर्देशनमा टेलिश्रृंखला 'गंजागोल' प्रसारण हुन लागेको हो । यसै साताबाट नेपाल टेलिभिजनबाट हरेक साता प्रसारण हुने यो शृङ्खलाको पहिलो भाग यही सोमबार बेलुकी ७:२५ बजे प्रसारण हुनेछ । चर्चित हास्य टेलिश्रृंखला 'भद्रगोल' का दुईमध्ये एक निर्देशक काफ्लेले आफ्नै प्रोडक्सन फोके नेपाल मिडिया प्रा.लि.बाट नयाँ शृङ्खला ल्याएका हुन् । उनी भद्रगोलबाट बाहिरिइसकेका छन् । नेपाल टेलिभिजनमा प्रसारण भए लगत्तै उक्त शृङ्खला डिजिटल माध्यममा ओएसआर डिजिटलले युट्युबमा सार्वजनिक हुनेछ । यसअघि बाबुराम भट्टराई र केपी ओलीको अभिनय गरेर चर्चामा आएका निर्देशक काफ्ले यस शृङ्खलामा मुख्य कलाकारका रूपमा पनि देखिने छन् । यसै गरी यसमा शिवहरि नेपाल, रोशनी सापकोटा, विद्या कार्की, सुमन ज्योति न्यौपाने, प्रकाश स्वर्णकार, वन्दना कार्की, सुसन राई, पूजन घिमिरे, सिर्जना जिसी, पूजा पन्त, रियाज काफ्ले, बिपना बस्नेत, राजन भुजेल, सुशान्त पाठकलगायत कलाकारको अभिनय रहने छ । टेलिश्रृंखलाका निर्माता प्रकाशकुमार सुवर्णकार हुन् भने दिलीप विष्ट र रामकृष्ण कँडेलको छायाङ्कन रहने छ ।