सञ्चारकर्मी एवं निर्माता रमेश एम के पौडेलले निर्देशनमा चलचित्र बन्ने भएको छ । 'रेड वाइन' नाम दिइएको चलचित्रको लागी मुख्य कलाकार फाइनल भएका छन् । चलचित्रमा पछिल्लो समयका व्यस्त अनि रुचाइएका नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहने पक्का भएको हो । निर्देशक पौडेल हाल अमेरिकामा रहेका छन् र चलचित्रको छायाङ्कन अमेरिकामा नै हुने बताइएको छ । पल र साम्राज्ञीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् भने दुवै यस चलचित्रलाई लिएर उत्साहित छन् । चलचित्रमा पल र साम्राज्ञीका साथमा हाँस्य कलाकार सन्दीप क्षेत्री इमिली लामाको पनि अभिनय रहने छ । चलचित्रमा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने छ । चलचित्रमा पटकथा तथा संवाद सविर श्रेष्ठले तयार पारेका छन् भने सह–निर्माता निरु भण्डारी रहने छिन् । आर्यन फिल्मस् प्रोडक्शन र वोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने 'रेड वाइन'को छायाङ्कन कोरोनाको अवस्था हेरेर दशैं र तिहारको बिचमा अमेरिकामा नै गरिने छ । यस चलचित्रका निर्देशक रमेश एम के पौडेलले निर्माण गरेको पछिल्लो चलचित्र 'राज्जा रानी' हो । जसमा अभिनेता नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको थियो ।