लेखक, कलाकार तथा निर्देशक किशोर भण्डारी 'डिट्ठा साब'ले नयाँ हास्य टेलिश्रृंखला लिएर आउने भएका छन् । करिब १६ वर्ष देखी नेपाली टेलिभिजनमा आफ्नै लेखन निर्देशनमा टेलीसिरियल निर्माण गर्दै आएका भण्डारीले 'अड्डा' नामक टेलिश्रृंखला लिएर आउन लागेका हुन् । 'अड्डा' डिस होम च्यानलको कमेडी प्लस च्यानल नम्बर १ सय ७ मा प्रत्येक मङ्गलवार राति ९ बजेदेखि प्रसारण हुनेछ । करिब डेढ दशकअघि मह जोडीको 'मह चौतारी' बाट अभिनय यात्रा सुरु गरेका किशोर भण्डारीले तीतो सत्य, जिरे खुर्सानी, मेरी बास्सैसहित ५० भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् । यस यो शृङ्खलाले अड्डा अर्थात् सरकारी कार्यालयहरूमा हुने गतिविधिहरूलाई रमाइलो शैलीमा चित्रण गरेको छ । ‘हरेक मानिस आफ्नो जीवनमा कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ । त्यसरी अड्डा पुग्दा कर्मचारीबाट गरिने व्यवहार कस्तो हुन्छ, सेवाग्राहीले सेवा पाउँछन् कि दुःख । यी सबै विषय रमाइलो ढङ्गबाट शृङ्खला देखाउने प्रयास गरिनेछ’ भण्डारीले शृङ्खलाको कथाको विषयमा बताए ।

शृङ्खलामा किशोरको अलावा, रेश्मा तिमल्सिना ‘बुनुमैँचा’, कृष्णभक्त महर्जन, राम प्र. जित्पुरे, लीला केसी, पुष्प अवस्थी, लक्ष्मीनाथ तिमल्सिना, विक्रमजङ शाह,अजय अधिकारी सुशील,सुशील फुयाँल,कुशल खनाल,श्याम बहादुर समीर मिया, सुमा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामालगायतको कलाकारको अभिनय देख्न सकिनेछ । प्रवेश पोखरेलको छायाङ्कन, दुर्लभ श्रेष्ठको सम्पादन, समीर मियाको भिएसएक्स, वसन्त सापकोटाको स्वर सङ्गीत, पुष्प अवस्थीको मुख्य सहायक निर्देशन, रेश्मा तिमल्सिना निर्देशन सहयोग रहेको छ ।