कोरोना महामारीका कारण जारी गरिएको लकडाउन खुकुलो भएसँगै ६ महिनादेखि ठप्प नेपाली फिल्म इन्डस्ट्री केही जुरमुराउन थालेको छ । लामो समय चलचित्र सम्बन्धी कुनै पनि काम नहुँदा सम्पूर्ण चलचित्र कर्मीमा एक किसिमको निराशा छाएको थियो । यसै बिच केही उत्साहका साथ चलचित्र निर्माणको घोषणा भएको छ । सोमबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिँड्दा हिँड्दै’ निर्माणको घोषणा गरिएको हो । मिलन आले मगरले निर्देशन गर्ने यस चलचित्रमा नायक आकाश श्रेष्ठ, सलोन बस्नेतको साथमा नव–कलाकार रेखा शाह तथा विकास थापाको मुख्य भूमिका रहनेछ । दिल लामा, राजकुमार थिङ्ग र पारस गुरुङ प्रस्तुतकर्ता रहेको यो चलचित्रलाई मिलन आले मगरले निर्देशन गर्दै छन् । चलचित्रमा सुशील पङ्गेनी प्रस्तुत कर्ता तथा लेखकको रूपमा छन् ।

युवायुवतीको प्रेम, बिछोड र पीडाको कथामा निर्माण हुने चलचित्रमा सुमनकुमार तन्डुकारको छायाङ्कन, देव महर्जनको एक्सन, वसन्त सापकोटाको सङ्गीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ । काठमाण्डौ र तराइका विभिन्न स्थानमा छायाङ्कन हुने ‘हिँड्दा हिँड्दै’ लाई लिएर नायक आकाश श्रेष्ठले आफू निकै उत्साहित भएको बताएका छन् ।