अभिनेता दयाहाङ राई रेड पाण्डा नेटवर्कका संरक्षण दूत नियुक्त भएका छन् । संरक्षण दूत नियुक्त भएसँगै कलाकार राई दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) को संरक्षण र अवैध चोरी सिकारी विरुद्धमा जनचेतना जगाउने अभियानमा सहभागी हुनेछन् । यो सहकार्यको माध्यमबाट हाब्रे संरक्षणको अभियानमा सफल हुनेमा हामी विश्वस्त रहेको रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफूरी शेर्पाले ब ताएका छन् । अभिनेता राईले पनि पाण्डा(हाब्रे) संरक्षणमा सम्मिलित हुन पाएकामा उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, '‘म पूर्वी नेपालको ग्रामीण परिवेशमा हुर्केँ, मेरो बाल्यकाल प्रकृतिको सामीप्यमा बित्यो तर मलाई हाम्रो क्षेत्र यति सुन्दर जनावरले सुशोभित छ भन्ने कुराको हेक्का कहिल्यै भएन ।

राष्ट्रको प्राकृतिक सम्पदाको रूपमा रहेको यो वन्यजन्तुको संरक्षणमा सहभागी हुन पाउँदा गौरवान्वित छु ।' वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संयोजकत्वमा हाब्रेको अनुसन्धानमा काम गर्दै आएको रेडपाण्डा नेटवर्कले पाँचथर–इलाम–ताप्लेजुङ भू–परिधि क्षेत्रका १० वटा हाब्रेको घाँटीमा जिपिएस स्याटलाइट कलर जडान गरेर अध्ययन गरिरहेको छ ।