विगत छ महिना यता चलचित्र निर्माण र प्रदर्शनमा रोक लगाइएको छ । लामो समय चलचित्र निर्माण प्रदर्शन लगायत चलचित्र सम्बन्धी सम्पूर्ण काम ठप्प हुँदा सुनसान भएको चलचित्र उद्योग अब भने केही जुरमुराउने तयारी गर्दै छ । यसै क्रममा बिस्तारै चलचित्र निर्माणको घोषणा हुन थालेका छन् । सोही क्रममा 'रोमियो' निर्देशक शङ्कर कार्कीको निर्देशनमा बन्ने चलचित्र 'सत्यम' को घोषणा गरिएको छ । अनुमति पाएपछि छायाङ्कनको लागी निस्किने गरी तयारी गरिरहेको चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दै छन् । सत्यममा श्याम मल्ल कार्यकारी निर्माताको रूपमा रहनेछन् । समाजका एक नायकको कथा भन्ने चलचित्र नवयुग सिनेमाको ब्यानरमा निर्माण हुने छ । श्याम मल्ल कार्यकारी निर्माताको रूपमा रहने चलचित्रको कथा निर्माता सापकोटा आफैँले तयार गरेका छन् । गणेश पौडेल सहयोगी निर्माता रहने यस चलचित्रको सह निर्मातामा रेशम गौतम, कृष्ण अधिकारी र बलराम सुवेदी रहनेछन् । विदुर पाण्डे छायाँकार रहने चलचित्रमा नयाँ र पुराना कलाकारको अभिनय रहने भनिए पनि कोको कलाकार हुने भन्ने पक्का नभएको निर्देशक कार्कीले जानकारी दिएका छन् ।