लकडाउन र कोरोना महामारीले सुस्ताएको नेपाली फिल्म इन्डस्ट्री केही चलायमान हुने तरखरमा छ । कोरोना सङ्क्रमण बढिरहेकाले सरकारले चलचित्र छायाङ्कन गर्ने अनुमति नदिए पनि निर्माताहरुले चलचित्र निर्माण घोषणा गरिरहेका छन् । यसै बिच निर्देशक आकाश अधिकारीले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको नाम फाइनल गरि नसके पनि चलचित्रको लागी केही कलाकार भने फाइनल गरिएको छ । द स्काइ मुभिजको प्रस्तुति रहने फिल्ममा अभिनेता सौगात मल्ल, कलाकारहरू रविन्द्र झा, सुनिल कटुवाल सहित वरिष्ठ अभिनेता शिव श्रेष्ठ अनुबन्धित भएका छन् । निर्देशक आकाशकै कथा रहने यो चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ, विजय उप्रेती, सजल लोप्चनको पटकथा तथा संवाद, नवराज कृष्ण थापाको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, राजनराज सिवाकोटी र शिखर सन्तोषको सङ्गीत रहनेछ । चलचित्रलाई सस्पेन्स थ्रिलर कथामा निर्माण गर्ने आकाशले जानकारी दिएका छन् ।  चलचित्रमा निर्देशक आकाश अधिकारीले पनि अभिनय गर्नेछन् । चलचित्रका लागि नायिका पक्का गरिएको छैन ।