कोरोना महामारीले विश्वलाई नै ठुलो पाठ सिकाइरहेको छ । यसले हामीलाई आफूलाई माया गर्न मात्र सिकाएको छैन जस्तो सुकै अवस्थामा पनि सद्भाव र सहयोगको लागी अगाडी सर्न उत्प्रेरित समेत गरेको छ । यस विपद्ले अन्य क्षेत्र झैँ चलचित्र क्षेत्र पनि निकै ठुलो समस्यामा परेको छ । दैनिक ज्यालादारीमा काम गर्न चलचित्र मजदुर देखी प्राविधिक र कलाकार समेत यसको प्रत्यक्ष मारमा परेका छन् । जति धेरै समस्या भए पनि समाधानको बाटो खुलाउँदै लानुपर्छ भने झैँ यस विपदमा अप्ठेरोमा परेकालाई सहयोग गर्ने चलचित्र कर्मी आफ्नो तर्फबाट लागिरहेका छन् । यसै बिच विपद्मा परेका चलचित्रकर्मीलाई सहयोग गर्न चलचित्रकर्मी विपद् व्यवस्थापन कोष कार्यविधि निर्धारण समिति गठन भएको छ । चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको संयोजकत्वमा कोष गठित समिति बनाइएको हो । जसमा सदस्यमा मोहन निरौला, छवि ओझा, किशन पोखरेल, अर्जुन कुमार पोखरेल, राजेन्द्र उप्रेती, राजाराम गौतम, अमृत सुनुवार, जनक कार्की, देवेन्द्र खड्गीलगायत छन् ।
विपद् व्यवस्थापन कोष समितिले कार्यविधि निर्माण गरेर लागू गर्न चलचित्र विकास बोर्डमा बुझाइसकेको छ । विपद्मा परेका फिल्मकर्मीलाई कोषले सहयोग गर्ने कार्यविधिमा उल्लेख छ । समितिले बाढी पहिरो, आगलागी, भूकम्प, आँधी बेरी, सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुने दुर्घटना जस्ता दैवी प्रकोपलाई विपद् भनेर व्याख्या गरेको छ ।बोर्डले स्वीकृति दिएपछि समिति फेरबदल गरेर चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको कार्यविधिलाई कार्यान्वयनमा ल्याइने बताउँदै संयोजक नरेन्द्र महर्जनले विपद्मा परेका फिल्मकर्मीलाई राहतको व्यवस्था तथा समस्याहरूको समाधान गर्नका लागि कोष खडा गरिएको उल्लेख गरेका छन् ।