कोरोना महामारीसँगै सेलाएको चलचित्र बजार यति बेला केही तात्ने प्रयासमा छ । ६ महिना अगाडी केही चलचित्र फ्लोरमा गएका थिए तर बढ्दो कोरोना महामारी र लकडाउनले गर्दा ती चलचित्र जहाँको त्यहीँ रोकिनु पर्‍यो र अहिलेसम्म पनि कहिले काम सुचारु हुन्छ भन्न सकिने स्थिति छैन । यसै अनिश्चितताको मारमा परेको चलचित्र हो 'ए मेरो हजुर ४' । अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र विगत ६ महिना यता गुपचुप रह्यो । अब भने लकडाउन सकिएको र जनजीवन सामान्य बन्ला कि भन्ने स्थिति आइरहँदा चलचित्र फेरी जुरमुराउने कोसिसमा छ । झरना थापा निर्देशित यस चलचित्रमा अहिलेका चर्चित गायक तथा मोडल दुर्गेश थापाको प्रवेश भएसँगै एकाएक चर्चा बढेको हो । आइतबार निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाले दुर्गेशसँग गायक र कलाकारको रूपमा सम्झौता गरेका हुन् । गायक थापाको फिल्ममा अभिनयसँगै एक गीतमा आवाज रहने निर्माता सुनिल कुमार थापाले जनाएका छन् । कथाको माग अनुसार फिल्ममा उनलाई अनुबन्ध गरेको भनिए पनि उनको कस्तो भूमिका रहने छ त्यो खुलाइएको छैन । दुर्गेशले गाउने भनिएको गीत भने केही दिनमा रेकर्डिङ हुनेछ ।

गायक थापाले सामाजिक सञ्जालमा यस सहकार्य बारे खुलाउँदै 'ए मेरो हजुर ४ मा म पनि जोडिएको खबर सुनाउन पाउँदा निक्कै खुसी छु । यो प्रोजेक्टमा जोडिने अवसर दिनुभएकोमा सुनिल थापा दाइ,झरना थापा दिदी र रामजी लामिछाने दाइ प्रति आभारी छु ।' लेखेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा र निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेसँगका केही तस्बिर समेत साझेदारी गरेका छन् । यसै वर्षको दसैँमा प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र समयमा छायाङ्कन हुन नपाउँदा कहिले रिलिज हुने भन्ने यकिन हुन सकेको छैन । कोरोनाको महामारी अन्त्य भएपछि बाँकी छायाङ्कनको लागी फ्लोरमा निस्किने तयारीमा टिम छ ।