लकडाउन भएसँगै रोकिएको चलचित्रको छायाङ्कन लगायत अन्य कामले बिस्तारै निरन्तरता पाउने लक्षण देखिएको छ । लकडाउन हुने समयमा केही चलचित्रले धमाधम छायाङ्कनको काम गरिरहेका थिए भने केही प्रदर्शनको तयारीमा थिए । प्रदर्शनको तयारीमा भएका चलचित्र कहिले पुनः रिलिज होलान् यकिन नभए पनि छायाङ्कन रोकिएका चलचित्र भने पुनः फ्लोरमा जाने सङ्केत देखिएको छ । केही दिन यता चलचित्र सम्बन्धी कार्यक्रम आयोजना हुने थालेसँगै बिचमा नै काम रोकेर बसेका चलचित्र पनि पुनः काममा फर्कने घोषणा भइरहेको छ । केही दिन पहिले अनमोल केसी र सुहाना थापा स्टारर चलचित्र 'ए मेरो हजुर ४' को शुक्रबार देखी छायाङ्कन सुरु गरिने बताइएको थियो । अब भने लकडाउन र कोरोना भाइरसले रोकिएको चलचित्र 'परदेशी २'को छायाङ्कन सुरु हुने भएको छ । चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाङ्कनका लागि वर्कसप सुरु गरिएको र एक सातापछि छायाङ्कन सुरु गर्ने तयारी थालिएको जानकारी दिएका छन् । उनले सरकारले अनुमति दिए यहि १७/१८ गतेदेखि छायाङ्कनमा जाने गरी तयारी थालेको बताएका छन् ।
चलचित्रको ७० प्रतिशत लकडाउन अगाडी सकिएको र अब भने चलचित्रको कथा परिवर्तन गरेर छायाङ्कन गरिने उनको भनाइ छ । अहिलेको परिस्थितिलाई समेट्नका लागि कथामा धेरै परिवर्तन गरिएको हो । लकडाउनअघि चलचित्रको छायाङ्कन पोखरामा गरिएको र अब काठमाडौँ, पाल्पा र विदेशमा खिचिने उनको भनाइ छ । विदेशमा खिच्नु पर्ने भागको लागी अहिले सम्भव नबहेको र स्वदेशमा पनि कताबाट छायाङ्कन सुरु गर्ने भन्ने पक्का भैसकेको भने छैन । चलचित्रमा दिलीप रायमाझी, प्रशान्त तामाङ, गायक प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, प्रकाशका भाई देबेन्द्र बब्लु लगायतका कलाकारको भूमिका रहने छ । रमेश विजीले लेखेको चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् ।